Featured 02 समाचार हिँड्दा–हिँडदै

विश्व पर्यटन दिवसको अवसरमा ‘ठमेल सडक महोत्सव’ हुने , पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्था

असोज ९, काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा राजधानीको पर्यटकीय बजार ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मान्त्रालयसँगको सहकार्यमा आगामी बिहीबार ३९औं विश्व पर्यटन दिवसको अवसरमा पहिलोपटक ठमेल सडक महोत्सव आयोजना गर्न लागेको हो ।

हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा ठमेलबाट प्रभातफेरी गरेर नेपाल पर्यटन बोर्डमा कार्यक्रम गर्ने गरिएकामा यस वर्ष पहिलोपटक ठमेल सडक महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव आयोजक संस्था परिषद्ले विश्व पर्यटन दिवसका अवसरमा ठमेल आउने पर्यटकका लागि होटल, रेस्टुरेन्टलगायतमा विशेष छुटको व्यवस्था गरिएको जनाएको छ । सोमबार होटल मस्र्याङ्दीमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष समीर गुरुङले सो महोत्सव तयारीबारे जानकारी गराएका हुन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवन्ीद्र अधिकारीले महोत्सव उद्घाटन गर्ने जानकारी गराए ।

त्यसैगरी, उनले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको विशेष आतिथ्यमा आयोजना गर्न लागिएको महोत्सवमा विभिन्न १० भन्दा बढी जातजातिका परम्परागत सांस्कृतिक झाँकीका साथै फुड फेस्टिभल र डिजेमार्फत मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिने बताए ।

उनले यो महोत्सव सफल पार्न  ठमेलका व्यवसायी, घरधनी, बुद्धिजीवी, पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था, स्थानीय तह सरकार तथा सरोकारवालालाई सहयोगको अपिलसमेत गरे । उनले २७ सेप्टेम्बरको दिन ४ बजे सुरु गरेर सोही दिन राति ९ बजेसम्म विभिन्न चरणमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको समेत जानकारी गराए । उनले यस महोत्सवमा करिब १० हजार अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको बताए ।

कार्यक्रममा कैलाश ग्रुपका प्रबन्ध निर्देशक टासी गुरुङले विश्व पर्यटन दिवसमा राजधानीका होटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी गराए । सो दिन होटल संघ नेपालले विमानस्थलबाट नेपाल भित्रिने पर्यटकलाई खाना बस्नलगायत अन्य सेवामा २० प्रतिशत छुटको व्यवस्था गरेको पनि उनले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया जनाउनुहोस्