Featured समाचार

२९ रोपनी क्षेत्रफलमा धरहराको पुनर्निर्माण सुरु

कात्तिक  १३, काठमाडौं । विनाशकारी भूकम्पले ३ बर्षअघि भत्किएको धरहराको पुनर्निर्माण सुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी-रमन जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको थियो ।  प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार धरहरा पुनर्निर्माणको काम सुरु भइसकेको र त्यसको जग हाल्ने कामका लागि खन्ने काम सुरु भएको छ ।

धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गरिनेछ ।

२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनछ । विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको मानन्धरले बताए ।

धरहराको पुरानो बाहिरी स्वरुप परिवर्तन गरिने छैन । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको मानन्धरले बताए। धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्ट लगायतका सुविधाहरु पनि हुनेछन् । सुन्धरालाई थप आकषिर्त बनाइने भएको छ । सुनबाट बनेको सुन्धरामा मानिसले मज्जा लिन सक्ने बताइएको छ ।

आफ्नो प्रतिक्रिया जनाउनुहोस्