एसियाड – प्याराग्लाइडिङमा नेपाललाई ऐतिहासिक सफलता


  • Frontline Nepal

भदौ १३,काठमाडौँ । एसियन गेम्स (एसियाड) मा नेपालले दोस्रो रजत पदक जितेको छ। इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको हो।

यसै संस्करणदेखि एसियाडमा समावेश गरिएको प्याराग्लाइडिङमा नेपालले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको हो। नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जितेको हो भने यो समग्रमा दोस्रो रजत पदक हो।

नेपालले कूल ११ हजार ३६४ अंक जोड्दै दोस्रो स्थान हात पारेको हो। पहिलो भएको जापानले कूल ११ हजार ३९१ अंक जोड्यो। नेपाल स्वर्ण पदक जित्नबाट २७ अंकले मात्र पछि पर्यो। यस स्पर्धामा जापानले स्वर्ण, नेपालले रजत र दक्षिण कोरियाले कास्य जित्यो।

अनुभवी पाइलट विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली टिममा विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्। प्याराग्लाइडिङमा रजत जितेपछि नेपालले एसियाडमा दुई रजत जितेको छ। र समग्रमा पदक संख्या २४ पुगेको छ। नेपालले यसअघि तेक्वान्दो, बक्सिङ र करातेमा मात्र पदक जितेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट