बिपी प्रतिष्ठानमा सङ्क्रमितको सङ्ख्या बढ्दै


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, बैशाख २६, २०७८

  • धरान, २६ वैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आज बिहानको तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानमा ११४ बिरामी भर्ना भएका छन् । यो तथ्याङ्क यही वैशाख १ गते यताको हो । प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार प्रतिष्ठानबाट हालसम्म कोरोना जितेर (पूर्ण रुपमा निका भएर) १२ जना घर फर्केका छन् ।

    एकसठ्ठी जना कोभिड अस्पतालमा उपचाररर्थ रहेका छन् । हालसम्म १८ जनाको ज्यान गएको सहप्रवक्ता पोखरेलले जानकारी दिनुभयो । एक सय श्यया क्षमता भएको प्रतिष्ठानमा निको भएर घर फर्कनेको सङ्ख्या पनि बढेर गएको छ । दश पूर्ण रुपमा निका भएर घर फर्केका छन् । तेइस आइसियु र अक्सिजन श्ययाबाट जेनेरल श्ययामा स्थानान्तर भई होम आइसोलेशनमा बस्ने गरी घर फर्केका सहप्रवक्ता पोखरेलले बताउनुभयो ।

    “अस्पतालले कोरोना नेगेटिम भएर फर्केकालाई मात्र निको भएको मान्ने गरेको छ, तर आइसियुमा बस्ने र अक्सिजन श्ययामा बसेर सामान्य भएर घर फर्कनेको सङ्ख्या बढेको छ”, डा पोखरेलले भन्नुभयो, “हाम्रो क्षमताले भ्याएसम्म सङ्क्रमितलाई सेवा दिइरहेका छौँ, हालसम्म कुनै सङ्क्रमितलाई फर्काउनु परेको छैन् ।” सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा पछि भने समस्या हुने उहाँको भनाइ छ । सङ्क्रमितलाई प्रतिष्ठानमा ल्याउँदा अस्पतालसँग समन्वय गरेरमात्र ल्याउन उहाँले आग्रहसमेत गर्नुभएको छ ।

    त्यसका लागि डा इन्द्र लिम्बू र डा विकास साहलाई फोकल पर्सनका रुपमा अस्पतालले तोकेको उहाँले जानकारी दिनुभयो । समन्वय नगरी सङ्क्रमित ल्याउन कतिपयलाई आइसियु श्यया वा अक्सिजन चाहिने हुन सक्छ यहाँ खाली नहुन सक्छ । त्यस्तो बेलामा जटिलता उत्पन्न हुने भएकाले उहाँहरुसँग समन्वय गरेर मात्र सङ्क्रमित प्रतिष्ठान ल्याउन प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशङ्कर साहले जानकारी दिनुभयो । यही वैशाख २५ गतेसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा एक हजार ३३८ जना भर्ना भएका थिए । नौ सय ९९ जना पूर्ण निको भएर घर फर्केका थिए भने १३९ जनाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको ल्याबमा ८० हजार ३३२ जनाको पिसिआर परीक्षण गरिएको छ । आठ हजार ५२६ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको प्रतिष्ठानको तथ्याङ्कमा उल्लेख छ ।

    प्रतिष्ठानमा प्रदेश नं १ र २ का केही जिल्लाबाट पिसिआर परीक्षणका लागि स्याम्पल आउने गरेको छ । प्रतिष्ठानले विशेषज्ञ चिकित्सक, कन्सल्ट्यान्टसहितको चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी कोभिड अस्पतालमा खटाएको छ । दुई सिफ्ट बनाएर २५ जनाको दरले जनशक्ति खटाइएको निर्देशक साहले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार