अपाङ्गता भएका परिवारका लागि सहयोग जुट्दै


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ २८, २०७८

  • गण्डकी, २८ जेठ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका अपाङ्गता भएको परिवारलाई सहयोग जुट्न थालेको छ । सेती नदीको डिलमा जस्ताको छानामुनि बस्दै आएका अपाङ्गतासहितको सात जनाको परिवारले कोरोना कहरका कारण भोकै बस्नु परेको समाचार गत सोमबार प्रकाशित भएको थियो ।

    अपाङ्गता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता विषयक शीर्षकको समाचार प्रकाशन भएसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले स्थान दिएका थिए । समाचारमा आएसँगै विभिन्न सहयोगी दाताले खाद्यान्नसहितका सामग्री सहयोग गर्नुभएको उक्त परिवारका सदस्य लक्षु थापामगरले जानकारी दिए ।

    उहाँका अनुसार पाँच छोरामध्येको कान्छो १८ वर्षीय छोरा पूर्णे जन्मजातै पूर्णरूपमा अपाङ्गता छन्, हिँडडुल गर्न सक्दैनन्, खाना खुवाउनुका साथै शौचालयसमेत बोकेर लैजानु पर्दछ, आम्दानी भनेको दैनिक मजदूरी नै हो । पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी र कार्यपालिका सदस्य राधिका शाही योगीले खाद्यान्नसहितको राहत सामग्री प्रदान गर्नुभएको थियो भने विभिन्न व्यक्तिले ठाउँठाउँबाट सहयोग गर्ने आश्वासन दिनुभएको उनले बताए ।

    भोकै बस्नुपर्ने तत्कालीन बाध्यता हटाउनका लागि प्रारम्भिकरूपमा रु पाँच हजार बराबरको खाद्य सामग्री सहयोग गरिएको बताउँदै वडाध्यक्ष अधिकारीले उनीहरूको दीर्घकालीन बसोबासका लागि समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनीहरूको परिवारलाई युवासङ्घ पोखरा–१७ बाट नौ हजार बराबरको खाद्यान्न, सरसफाइलगायत सामग्री प्रदान गरिएको छ । उक्त परिवारको लागि जग्गा प्राप्त भएमा घर निर्माणका लागि आवश्यक जस्तापाता र ब्लक उपलब्ध गराउने सो स्थानामा पुग्नुभएको गैसस महासङ्घका महासचिव रामप्रसाद सुवेदीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट