इच्छाकामनामा खानेपानी योजना सम्पन्न हुँदै


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, असार २७, २०७८

  • चितवन, २७ असार । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाको अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्दछ । त्यस क्षेत्रका जनताको मुख्य समस्या खानेपानी हो । गाउँपालिकाले उच्च प्राथामिकतामा खानेपानीलाई पार्ने गरेको छ ।

    गाउँपालिका प्रमुख गीता गुरुङले शनिबार मात्र इच्छाकामना–३ दारेचोकस्थित तोक्दाङढापमा खानेपानी आयोजनाको उद्घाटन गरे । सो अवसरमा एक घर एक धाराअन्तर्गत ४६ घरमा धारा जडानको काम सम्पन्न भएको छ । उनका अनुसार झण्डै छ किलोमिटर टाढाका दुई खोलाबाट पानी ल्याइएको हो । रु ३५ लाखको लागतमा योजना सम्पन्न भएको हो । उनले भने, ‘अब तोक्दाङढापवासीले घण्टौँ लगाएर पानी लिन जानु पर्दैन ।’

    गाउँपालिकाकै वडा नं ६ ढुङ्ग्रेमा रु एक करोडको लगानीमा बन्दै गरेको आयोजना साउनमा सम्पन्न हुँदैछ । त्यहाँ १०० भन्दा बढी घर लाभान्वित हुनेछन् । सो आयोजनाको ७२ धारा जडान भइसकेको गुरुङले जानकारी दिए । सोही गाउँपालिकाको वडा नं १ ज्ञानजालामा पनि रु एक करोडको लगानीमा बन्दै गरेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । त्यस आयोजनाले ७० घरपरिवारलाई खानेपानी पुर्‍याउने छ ।

    इच्छाकामनाकै वडा नं ५ इच्छाकामना मन्दिर परिसरमा रु एक करोडकै लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ । पानी निस्किसकेको र धारा जडानको काम भइरहेको उनको भनाइ छ । यस आयोजनाले मन्दिर क्षेत्रसँगै स्थानीय ५५ घरलाई खानेपानी पुर्‍याउने छ ।

    तीनवटै आयोजना लिफ्टिङ प्रणालीबाट गरिएका हुन् । सबैमा सोलार जडान गरिएका छन् । अप्ठ्यारो भएकाले यी आयोजना सम्पन्न हुन समय लागेको भन्दै उहाँले आफ्नो गाउँपालिकाको सातवटै वडामा अब खानेपानीको समस्या नहुने बताउनुभयो । उनले भने, ‘अब हाम्रो गाउँपालिकामा खानेपानीको दुःख नहोला ।’

    आफू प्रमु्ख भएपछि खानेपानीलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको भन्दै उनले खानेपानीको समस्या मुख्यरूपमा महिलाले पाउने गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट