कैंची चलाउँदा चलाउँदै सेलिब्रिटी बनेका जुरी ठाकुर


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन १, २०७८

  • काठमाडौं, १ साउन । १९ वर्ष अगाडी महोत्तरीबाट काठमाडौं प्रवेश गरेका थिए, जुरी ठाकुर । भर्खरको ठिटो । उनको मनभरी अनेक सपनाहरु थिए । त्यो बेला उनका लागि काठमाडौं भनेको एउटा सपनाको शहर जस्तै थियो । हरेक थोक नौलो, हरेक मानिसहरु नौला ।

    जुरीका बुबा गणेशले नयाँ बानेश्वरको खरिबोटमा जुरी हेयर ड्रेसर लेडिज एण्ड् जेन्ट्स पार्लर सञ्चालन गर्थे । जुरी त्यसैमा काम गर्न थाले । सानो पसल थियो । त्यो बेला मासिक भाडा १ हजार २ सय रुपैंयाँ थियो । ‘सुरु–सुरुमा निकै गार्‍हो भयो ।’ जुरीले ति दिनहरु सम्झिदै भने ‘मानिसहरुले हेप्थे । ग्राहक पाउन पनि मुस्किल पथ्र्यो ।’ तर जति समस्या र कठिनाइहरु भोग्नु परे पनि उनले आफ्नो कर्मलाई रोकेनन् । बरु उनले आफ्नो कर्मलाई पूजा र काम गर्ने ठाउलाई मन्दिर ठानेर कामको रफ्तारलाई अझ बढाए ।

    अभिनेता पल शाह

    जुरी काठमाडौं प्रवेश गरेको दुई वर्षमै उनका बुबा गाउ फर्के । महोत्तरीको कोलुवा बहेरामा अहिले उनका दुई वटा पार्लर सञ्चालनमा छन् । यता काठमाडौंको व्यवसाय जुरी आफैले अगाडी बढाए । उनको बेग्लै कोठा थिएन । दिउसो त्यही सैलुनमा कपाल काट्थे, राती त्यही निदाउँथे । कैयौं दिन उनी पत्रिका बिछ्याएर, इट्टाको सिरानी राखेर निदाए । समयले ठूलो फड्को मारेको छ । अचेल जुरीका दिनहरु उस्तै छैनन् ।

    नयाँ बानेश्वर खरीबोटस्थित उनको जुरी युनिसेक्स पार्लरमा अचेल सेलिब्रिटीहरु कपाल कटाउन र मेकअपका लागि आउने गर्छन् । एउटा सानो पसलबाट सुरु भएको जुरीको व्यवसाय अहिले तीन वटा पार्लरमा फैलिएको छ । हास्यकलाकार हरिबंश आचार्य, केदार घिमिरे माग्ने ‘बुढा’, सन्दिप क्षेत्री देखि अभिनेता रमित ढुंगाना, विराज भट्ट, पल शाह, दिलिप रायमाझी, प्रदिप खड्का, जयकिसन बस्नेत, कलाकार दुर्गेश थापा, गायिका अन्जु पन्त, ज्योती मगर, रचना रिमाल डान्सर गरिमा शर्मा उनको सैलुनमा सेवा लिईसकेका छन् । कतिपय सेलिब्रिटीहरु उनको पार्लरमा नियमित आईरहन्छन् । सर्वसाधारणदेखी सेलिब्रिटीको रोजाईमा परेको छ यो पार्लर ।

    जुरी युनिसेक्स पार्लर तीन जना स्टाफबाट सुरु भएको थियो । अहिले ५ जना केटी र ५ जना केटा गरेर १० जनालाई रोजगारी दिलाएको छ । दैनिक रुपमा ७० देखी सय जनासम्म ग्राहकहरु आउने गरेको जुरी बताउँछन् । विदाका दिनमा भने अझ बढी भीड लाग्ने गरेको उनी बताउँछन् । कहिलेकाहीं त ग्राहकहरुको भीड यति लाग्छ कि व्यवस्थापन गर्नै मुस्किल हुन्छ ।

    यस्तो छ जुरीको पृष्ठभूमी
    महोत्तरीको कोलुवा बहेरा ५ मा जन्मिएका जुरी ९ कक्षा पढ्दा पढ्दै भागेर भारत पसे । साथीभाईको लहैलहमा लागेर भारत पसेका उनले त्यहाँ एक पसलमा काम गरे । पछि १५ महिना कपाल काट्ने पसलमा काम गरे । नेपाल फर्केपछि १८ वर्षकै उमेरमा विहे गरेका उनी त्यसपछि भारत गएनन् । नेपालमै बसेर आफ्नै व्यवसायमा तल्लिन भए ।

    हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’

    कामप्रतिको लगाव
    जुरी आफ्नो कर्मलाई पूजा र काम गर्ने स्थानलाई मन्दिरका रुपमा लिन्छन् । बिहान ७ बजे नै पार्लरमा पुग्ने उनी राती ९ बजेसम्म काम गरिरहेका हुन्छन् । यसै पेशामा जीवनको धेरै समय बिताईसकेका उनले अरु पेशामा जाने कहिल्यै सोचेनन् । म्युजिक भिडिओ र चलचित्रको सुटिङमा मेकअपका लागि उनलाई कतिले बोलाउने गर्छन् । अब त जुरी हेयर ड्रेसर लेडिज एण्ड् जेन्ट्स पार्लरका थप नयाँ ब्राञ्च खोल्ने सुरसार गरिरहेका छन् । सामाजिक सञ्जालमा पनि जुरी निकै सक्रिय छन् । फुर्सदको समयमा फेसबुक, इन्स्टाग्राम, टिकटकमा उनी रमाईरहेका हुन्छन् ।

    अभिनेता दिलिप रायमाझीसँग भेट

    अभिनेता दिलिप रायमाझी

    ६ वर्ष अगाडी अभिनेता दिलिप रायमाझीले एक पटक जुरीलाई मेकअप आर्टिस्टका रुपमा सुटिङमा बोलाएका थिए । त्यो बेला एउटा गीतको सुटिङ थियो । पछि दिलिपलाई जुरीले पार्लरमै बोलाए । विस्तारै अन्य सेलिब्रिटीहरुसँग पनि उनको चिनजान बढ्दै गयो । सेलिब्रिटीहरु उनको सैलुनमा नियमित आउन थाले । जुरीले सर्वसाधारणदेखी सेलिब्रिटी सबैलाई समान व्यवहार गर्छन् । उनको काम देखेर कतिपय संघसँस्थाले सम्मान तथा प्रशंसा पत्र दिएका छन् ।

    ‘कुन बेला तपाईलाई सबैभन्दा बढी खुसी लाग्छ ?’
    जब मेरो पार्लरमा आएर सामान्य मानिस सन्तुष्ट हुन्छ, तब मलाई आनन्द लाग्छ ।

    हास्यकलाकार सन्दिप क्षेत्री

    नायक रमित ढुंगाना

    अभिनेता जयकिसन बस्नेत

    अभिनेता प्रदिप खड्का

    प्रतिक्रिया
    सम्बन्धित समाचार