राष्ट्र संघको ७३औँ महासभामा प्रम ओलीको सम्बोधन – बुद्ध र सगरमाथाको देशबाट विश्वलाई शुभेच्छा


  • Frontline Nepal

असोज १२, काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७३औँ महासभामा सम्बोधन गरेका छन् । महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्ध र सगरमाथाको भूमिबाट शुभेच्छासहित आएको बताए।

नेपालले सन् २००६ यता ‌ ऐतिहासिक राजनीतिक परिवर्तनलाई आत्मसाथ गरेको उनले बताए। ‘यो एउटा सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण परिवर्तन गर्नु थियो,’ उनले अगाडि भने, ‘विविधताभित्र एकतालाई प्रवर्द्धन गर्दै राज्यलाई पुनः संरचनामा लैजानु थियो। जनतालाई वास्तवमै सार्वभौम गर्नु थियो र यी उपलब्धिहरूलाई जननिर्वाचित संविधानसभामार्फत् प्रजातान्त्रिक संविधानमा संस्थागत गर्नु थियो।’

उनले विभिन्न समस्या, विनाशकारी भूकम्पका बाबजुद राजनीतिक नेतृत्वले साझा मुद्दामा एक भई संविधान जारी गरेको बताए। योसँगै नेपालीको सात दशक लामो आफ्नो संविधान आफैँ लेख्ने चाहना पूरा भएको प्रधानमन्त्री ओलीको भनाई थियो।

नेपालको संविधानले प्रजातान्त्रिक मान्यतालाई सङ्घीय गणतन्त्रमा संस्थागत गर्नुका साथै जनतालाई अधिकार र स्वतन्त्रतालाई समेत उच्च प्राथमिकतामा राखेको बताए।

नेपालको प्राजातन्त्रिक र शान्तिपूर्ण परिवर्तन विश्वका लागि मौलिक उदाहरण भएको बताए। ‘द्वन्द्व व्यवस्थापनमा नेपालले हासिल गरेको उपलब्धि विश्वका हरेक कुनामा रहेका शान्ति चाहने जनताका लागि एउटा उदाहरण हुने हामी विश्वास गछौँ,’ उनले अगाडि भने, ‘प्रजातान्त्रिक संक्रमणको लामो यात्राबाट प्राप्त पाठले हामी हाल एउटा आत्मविश्वासी देशको रुपमा उभिएका छौँ। राजनीतिक समस्यालाई किनारा लगाउँदै आर्थिक परिवर्तनमा अगाडि बढ्ने अभियानमा छौँ। मेरो सरकारले विकास प्रक्रियालाई अगाडि बढाउनका लागि समृद्ध नेपाल सुखी नेपालीको नारालाई अगाडि सारेको छ।’

उनले सम्बोधनका क्रममा नेपालको परराष्ट्र नीतिको विषयमा चर्चा गरे। ‘हाम्रो परराष्ट्र नीतिको सिद्धान्तले हामीलाई सबैसँग मित्रता र कसै पनि दुश्मिनी नराख्न सहयोग गरेको छ,’ उनले अगाडि भने, ‘यसले हाम्रो स्वतन्त्रता र विश्वव्यापी मुद्दाहरूमा हाम्रो मतलाई अगाडि बढाउन सहयोग गरेको छ।’

प्रधानमन्त्री ओलीले नेपालको विकासमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगको अपेक्षासमेत गरे। उनले नेपालको परराष्ट्र नीतिले क्षेत्रीय साझेदारीलाई प्रथामितालाई राखेको भन्दै अगाडि भने, ‘हामीले चौथो बिम्स्टेक सम्मेलनको सफल आयोजना गर्‍यौँ। हामीले सार्कलाई पनि उत्तिकै महत्त्वका साथ क्षेत्रीय संगठनको रूपमा हेरेका छौँ।’

उनले विश्वव्यापी रूपमा गरिबी, आतङ्कवाद, जलवायु परिवर्तन खाद्य असुरक्षा, प्राकृतिक प्रकोप तथा हतियारको होडबाजी विश्व समुदायका लागि चुनौती भएको बताए।  देश-देशबीचको द्वन्द्वका कारण दशौँ लाख मानिसहरूको ज्यान गएको बताए।

उनले सिरिया, यमन, प्यालेष्टाइन लगायतका देशका जनताको अधिकार, स्वतन्त्रता र न्याय प्राप्तिको आवाजलाई सम्बोधन गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्नुपर्ने बताए। ‘जलवायु परिवर्तनको कुरा गर्दा खतराको घडीले ठूलो स्वरमा घण्टी बजाएको छ। जलवायु परिवर्तनको समस्याले नेपाल जस्ता गरिब तथा थपा जोखिमपूर्ण देशहरूलाई उनीहरूको नगन्या जिम्मेवारीका बाबजुद पनि समस्या पारेको छ,’ उनले भने, ‘विश्वको वाटर टावरको रूपमा चिनियाँका हिउँले ढाकिएका हिमालहरू पग्लिँदै गएको, हिमनदीहरू पग्लिएर समथर भू-भागहरू बाढी र डुबानमा परेको पीडाको साक्षी भएर हामी बस्न सक्दैनौँ।’

उनले आफूहरूले सिर्जना नगरेको विपदको पीडित भएको तितो यथार्थ रहेको बताए। प्रधानमन्त्री ओलीले नेपाल आम विनाशकारी हतियारहरूको पूर्ण नष्ट गर्ने पक्षमा रहेको बताए। उनले पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा भएका शान्तिका प्रायासहरुको स्वागत गरे। ‘संयुक्त राज्य र दुई कोरिया कोरियाली प्रायद्विपमा आणविक निःशस्त्रीकरण, शान्ति र स्थायित्वका लागि भएका प्रयासहरूको हामी स्वागत गर्छौँ।’

प्रतिक्रिया
सम्बन्धित समाचार