निर्माण व्यवसायी गौचन हत्याका अभियुक्त बस्नेतको इन्काउन्टर गर्न खोजिएको परिवारको आरोप


  • Frontline Nepal

असोज १७, काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ । बुधबार बस्नेतका परिवारले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएको हो । बस्नेतकी श्रीमती माया शेरचन र दाईहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समिरलाई काठमाडौंबाट रातारात मुस्ताङ पुर्याएको भन्दै घोर आपत्ति जनाएका हुन् ।

बस्नेतकी श्रीमती शेरचनले भनिन्,‘मलाई जानकारी नै नगराई रातारात उहाँलाई मुस्ताङ लगियो । त्यो दिन राति ६ बजे मुस्ताङ लगिँदैछ भनेर जानकारी दिईएको थियो । म चाहीँ मोटरसाईकलबाट पोखरा गएँ । पोखरामा श्रीमानलाई भेट्दा कहाँ लगिँदैछ भनेर उहाँलाई पनि थाहा नभएको कुरा मसँग भन्नुभयो ।’
त्यही दिन मुस्ताङको लागि लग्ने कुरा भएपनि माथिको आदेश नभएको भन्दै बेनीमै बस्नेतलाई राखिएको उनले जनाईन् । उनले भनिन्,‘भोलिपल्ट मुस्ताङको लागि उहाँलाई त्यहाँबाट जीपमा हालेर लगिएको थियो ।’

उनले आफूलाई प्रहरी प्रशासनले श्रीमानसँग भेट्नसमेत नदिएको गुनासो पोखिन् । उनले भनिन्,‘उहाँलाई काठमाडौंबाट किन लगियो भन्नेमा हामीलाई शंका छ । उहाँको केश त यहीँ काठमाडौंमै छ । किन काठमाडौंबाट उता लगियो यसमा हाम्रो घोर आपत्ति छ । सोमबार उहाँलाई मुस्ताङको लागि लगिएको भनिएपनि मंगलबार अपरान्हमात्रै उहाँलाई त्यहाँ पुर्याईयो । यतिवेला उहाँलाई जोमसोम कारागारभित्र राखिएको छ । आज विहानमात्रै मैले उहाँसँग जम्मा ४ मिनेट भेट्ने मौका पाएँ । भेट्दाखेरी उहाँको घाँटीमा दाग देखें र मैले यसबारेमा श्रीमान्सँग जिज्ञासा राखेको थिएँ । तर, उहाँले धागो निकाल्दाखेरी यस्तो भएको हो भन्नुभयो । त्यसमापनि मलाई शंका छ।’

उनले आफ्नो श्रीमानलाई प्रहरी प्रशासनले यसरी काठमाडौं बाहिर लैजानुमा शंका उत्पन्न भएर आज पत्रकार सम्मेलन गर्न आएको जानकारी दिईन् । जोमसोम कारागार सुरक्षित नभएको भन्दै उनले भनिन्,‘उहाँलाई बरु काठमाडौंको गोलघरमै राखिदिएको भए हुन्थ्यो । सुरक्षा संवेदनशीलताको कुरा उठ्यो भनिएको छ, त्यसो हो भने त उहाँलाई कडा सुरक्षा भएको कारागारमा राखिनुपर्दथ्यो ।’ उनले आफ्नो श्रीमानलाई प्रहरीले ईनकाउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको आरोप लगाईन् ।

बस्नेतकी श्रीमती मायाले समिरलाई काठमाडौंबाट पोखरासम्म विमानमा लगिएको तर पोखराबाट मुस्ताङको खराब बाटोमा चाहीँ स्थलगत मार्ग हुँदै लगिएकोमा पनि आपत्ति जनाईन् । उनले भने,‘राम्रो बाटो चाहीँ उहाँलाई जहाजमा लगियो । तर, खराब बाटोमा चाहीँ गाडीमा लगियो । यसमा हामीलाई शंका छ।’

कार्यक्रममा समिरको तर्फबाट वकालत गरिरहेका अधिवक्ता कृष्ण प्रसाद शर्माले राज्यले हरेक नागरिकलाई सुरक्षा दिनुपर्ने बताउँदै नागरिकहरुको मानव अधिकारको प्रत्याभुति गर्नुपर्ने बताए । उनले भने,‘तर,समिरको केशमा राज्य मानवअधिकार दिने कुरामा चुक्न खोजेको हामीलाई आशंका छ ।’बस्नेतका परिवारले राज्यले आफ्नो दायित्वबाट विमुख नहोस् भन्ने चाहेको सुनाउँदै शर्माले बस्नेतको जीवन रक्षाको माग गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट