नदीजन्य पदार्थको अवैध उत्खनन रोक्दै जनप्रतिनिधि


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ १९, २०७९

  • राँझा, १९ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले राप्ती नदीमा अवैध रुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न चासो देखाएका छन् । गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ मा यहाँका नदी खोलामा ठेक्का लगाउन नसक्दा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गरी चोरी निकासी हुँदै आएको छ ।

    नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन गरी चोरी निकासी बढेको स्थानीयवासीको गुनासोपछि कार्यपालिका बैठकबाटै अवैध उत्खनन रोक्न कडाइ गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको निर्णय पश्चात अवैध उत्खननमा प्रयोग गरिएका तीन वटा एक्साभेटर ६ नं वडाको फत्तेपुरस्थित राप्ती नदीको घाटबाट नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका एक्साभेटर अस्थायी प्रहरी पोष्ट फत्तेपुरमा राखिएको छ । नदीमा अवैध रुपमा उत्खनन भइरहेको सूचनाको आधारमा वडाध्यक्ष लवराज खरेलको नेतृत्वमा मङ्गलवार दुई र वुधवार गाउँपालिकाको टोलीले एउटा एक्साभेटर नियन्त्रणमा लिएको थियो ।

    नियन्त्रणमा लिइएका एक्साभेटरलाई नियमानुसार जरिवाना गराएर छाड्ने प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । उहाँका अनुसार राप्ती नदीको नदीजन्य पदार्थको अवैध उत्खनन रोकेर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० बाट नदी खोलामा ठेक्का लगाउने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष पौडेलले पालिकाअन्तर्गतका नदी खोलामा अवैध उत्खनन रोक्न कडाइका साथ लागिएको बताउनुभयो । गाउँपालिकाको मुख्य आन्तरिक स्रोत नै नदीजन्य सामग्री भएकोले अवैध चोरी निकासी रोकेर राजस्वमा वृद्धि गर्नतर्फ आफुले ध्यान दिएको उहाँको भनाइ छ । गाउँ कार्यपालिका बैठकले गाउँपालिका क्षेत्रमा नदीजन्य पदार्थको घाटगद्दीको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।

    राप्तीसोनारी गाउँपालिकाले खैरी खोला, मुगुवा खोला, टिकुलीपुरघाट सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवा खोला, झिझरी खोलालाई निषेधित क्षेत्र कायम गरेको छ । कार्यपालिकाले आर्थिक वर्ष २०७९/८० मा समयमै सार्वजनिक खरिद प्रक्रियामा गई नदीजन्य वस्तुको आवश्यकताका आधारमा तोकिएको मात्र उत्खनन गर्ने गराउने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार