प्रधानमन्त्री कप क्रिकेट : समूह विजेता बन्दै स्याङ्जा फाइनल


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस २१, २०८०

  • कास्की, २१ पुस : स्याङ्जा आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजको खेलमा कास्कीलाई ७७ रनले पराजित गरी समूह ‘ए’ को विजेता बन्दै स्याङ्जाले फाइनलमा स्थान बनाउन सफल भयो । स्याङ्जाले यसअघि बाग्लुङलाई पनि पराजित गरेको थियो । खेलमा टस जितेर सुरुवातमा ब्याटिङ रोजेको स्याङ्जाले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै दुई सय २२ रनको योगफल बनाएको थियो ।

    खेलमा जितका लागि दुई सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कास्की ४० ओभरको तेस्रो बलमा जम्मा एक सय ४५ रन बनाएर अलआउट भयो । स्याङ्जाका अङ्कित न्यौपाने र आश्विन रानाले तीन÷तीन तथा सन्दीप खत्री क्षेत्रीले एक विकेट लिनुभयो ।

    स्याङ्जाका ईश्वर क्षेत्रीले सर्वाधिक ५५ र मीलन क्षेत्रीले ३६ रनको योगदान दिनुभयो । कास्कीका कप्तान विपीन खत्री तीन तथा नितेश गिरी र आदित्य थापाले समान दुई÷दुई विकेट लिनुभयो । ‘प्लेयर अफ दी म्याच’ घोषित स्याङ्जाकाका आश्विन रानालाई पर्वत जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रेशमबहादुर केसीले पुरस्कार वितरण गर्नुभयो ।

    प्रतियोगिताको समूह ‘ए’ मा का खेल सम्पन्न हुँदा कास्कीले दुई अङ्क जोड्न सफल भयो । बाग्लुङले भने कुनै पनि अङ्क जोड्न सकेन । प्रतियोगिता अन्तर्गत आइतबारदेखी समूह ‘बी’का खेल सुरु हुने आयोजक गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । सूमह ‘बी’को विजेताले फाइनलमा स्याङ्जासँग उपाधिका लागि खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस २५ गते सञ्चालन हुनेछ ।

    नेपाल क्रिकेट सङ्घको आयोजनामा आगामी पुस २८ गतेदेखि राजधानी काठमाडौँमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । गण्डकी प्रदेशले आफ्नो पहिलो खेल पुस २८ गते लुम्बिनी प्रदेशसँग खेल्ने खेल तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार