प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो, कोशीको आठौँ हार


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ १०, २०८०

  • काठमाडौँ, १० माघ : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई आठ विकेटले पराजित गर्‍यो ।

    जितसँगै पाँच खेलमा चार जितसँगै आठ अङ्क जोडेको सुदूरपश्चिम अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने आठ खेलमा सबै खेल हारेर अङ्कबिहीन बनेको कोशी प्रदेश पुच्छारमा छ ।

    कोशीले प्रस्तुत गरेको एक सय २४ रनको लक्ष्य सुदूरपश्चिमले २१ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जितमा नरेन भट्टले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४९ बलमा सात चौका प्रहार गरे । प्रकाश पाण्डेले अविजित ३४ बनाए भने कप्तान राजु रिजालले २१ रन बनाए ।

    कोशीका लागि दुवै विकेट फिर्दोस अन्सारीले लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो । कोशीका लागि मिनाश थापाले २६, कप्तान अङ्कित तिवारीले २२, कमल खत्रीले १८ र फिर्दोस अन्सारीले १३ रन बनाए ।

    बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले पाँच विकेट र विकाश आग्रीले चार विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार