आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज र आर्मी भिड्दै


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, माघ १८, २०८०

  • कास्की, १८ माघ : पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय« अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दैछन् ।

    पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न हुने यी दुई टोलीबीच दोस्रो सेमिफाइनलको खेल सञ्चालन हुन लागेको हो । आजको विजेता टोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ । विजेताले माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

    विभागीय टोली आर्मीले प्रतियोगिताको प्रिक्वाटरफाइनलको खेलमा राइजिङस्टर एफसी र क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

    यसैगरी चर्च ब्वाइजले क्वाटरफाइनलमा सिधै स्थान पाएको थियो । क्वाटरफाइनलको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई हराएर सेमिफाइनल पुगेको टोली हो । थ्रीस्टार क्लब बुधबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरी उपाधि नजिक पुगेको हो ।

    यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

    यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार