पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन २७, २०८०

  • धनकुटा, २७ फागुन : संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित नगेश्वर मन्दिर आझेलमा परेको छ । पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजाराँै रोपनी जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधु÷सन्तलाई भण्डारा लगाइने (खाना खुवाइने) गरिन्थ्यो । सो शिवालय मन्दिर अहिले बेलाबखत हुने धार्मिक कार्यक्रमबाहेक अन्य समय सुनसान हुने गरेको छ ।

    सोताका गुठी जमिनको हजारौँ मुरी धान तथा मकैको आम्दानीबाट यहाँका पुजारी तथा पण्डितका लागि झारु, बडारु, हटलुवा, कावारी, गाई गोठालगायतको व्यवस्थापन गरिन्थ्यो । पछिल्लो समय विसं २०५४ पछि यहाँका सातौँ महन्त भीमप्रसाद गिरीको देहान्तसँगै महन्त नियुक्ति हुन नसक्दा मन्दिर र गुठी अलपत्र परेको नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीले जानकारी दिनुभयो । अहिले यो मन्दिरको साबिक लेगुवा गाविस हाल नगरको वडा नं ५ र ६, सङ्खुवासभा जिल्लाको आँखीभुइँ, मुलगाउँ, मुढेलगायत स्थानमा ४० देखि ५० हजार रोपनी गुठी जमिन रहेको उहाँले जानकारी दिनुभयो ।

    धनकुटा र भोजपुरको सिमानामा रहेको अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवाबजार र यस क्षेत्रका अधिकांश गाउँ यही गुठीको जमिनमा रहेको छ । गुठीको जमिन भोगचलनबापत अहिले कसैले पनि आम्दानी नबुझाएकाले गुठीको जमिन व्यवस्थापन गर्न महालक्ष्मी नगरपालिका र मालपोत कार्यालय धनकुटामा पहल थालिएको उहाँले जानकारी दिनुभयो ।

    लेगुवामा भन्दा बढी क्षेत्रफलमा रहेको सङ्खुवासभामा रहेको गुठीको जमिन व्यवस्थापनका लागि दोस्रो चरणमा काम थालिने गुठी व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिनुभयो । “पहिला यहीँबाट सञ्चालन हुने भए पनि अहिले उता बेग्लै समिति छ, यहाँको काम सकिएर हामी उताको कममा लाग्नेछौँ”, अध्यक्ष पुरीले भन्नुभयो ।

    सो मन्दिर तथा गुठीको उत्थान र सरक्षण हुनसके यस क्षेत्रलाई नगर र जिल्लाकै धार्मिक पर्यटनको रूपमा विकास गर्न सकिने महालक्ष्मी नगर पालिका वडा नं ६ का वडाध्यक्ष शिवराज विकको भनाइ छ । धनकुटाको लेगुवामा मात्र १५ देखि २० हजार रोपनी गुठीको जमिनमा मोहीका रूपमा पाँच सय घरधुरीभन्दा बढी घरधुरीले बसोबास गरिरहेको महालक्ष्मी नगर प्रमुख ध्रुवराज रायाले जानकारी दिनुभयो ।

    गुठी संस्था र मालपोत कार्यालय धनकुटाको सहकार्यमा छ महिनाभित्र तीन सय ६० घरधुरी मोहीलाई जमिन हस्तान्तरणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । “मालपोत कार्यालयले तत्परता देखाए तुरुन्त जग्गाधनी पुर्जा वितरणको काम हुन्छ”, नगर प्रमुख रायाले भन्नुभयो । गुठी र मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकनका रूपमा विकास गर्न नगरपालिकाले मन्दिरको जीर्णोद्वार तथा गुठी व्यवस्थापनको काममा सहयोग गरिरहेको रायले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार