मिडफिल्डर एङ्गोलो कान्टे तीन साता मैदान बाहिर रहने


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन १०, २०७६

  • लन्डन क्लब चेल्सी तथा फ्रेन्च मिडफिल्डर एङ्गोलो कान्टे तीन साता मैदान बाहिर रहने भएको छ । कान्टेले प्रिमियर लिग अन्तरगत सोमबार राति म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएको खेलको शुरुमै मसल्समा चोट बोकेका थिए ।

    चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले उनी तीन साता मैदान बाहिर रहने बताएका छन् । यससँगै कान्टेले कम्तीमा पनि चार खेल गुमाउने पक्का भएको छ । उनले प्रिमियर लिगमा टोटेनहम र एभर्टन, च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा बायर्न म्युनिख र एफए कपमा लिभरपुलसँगको खेल गुमाउने पक्का भएको छ ।

    ‘एङ्गोलो फिट छैन । उनले मसल्समा चोट बोकेका छन् । उनी तीन सातापछि एस्टन भिल्लाविरुद्धको खेलबाट मैदानमा उत्रन सक्नेछ । जसरी उनले आर्सनलविरुद्धको खेलमा पूनरागमन गरे ।’ लाम्पार्डले भने, ‘चोटबाटै टमी अब्राहम र कलुम हड्सन ओडोइ प्रशिक्षणमा फर्केकाले केही राहत मिलेको छ । तर, उनीहरुले शनिबार टोटेनहमविरुद्ध खेल्ने सम्भावना निकै न्युन छ ।’

    प्रिमियर लिगमा शनिबार घरेलु मैदानमा चेल्सीले टोटेनहमसँग खेल्दैछ । चेल्सी र टोटेनहम प्रिमियर लिगमा शीर्ष चारमा पर्ने दौडमा छ ।
    चेल्सी २६ खेलबाट ४२ अंक जोडेर चौथो तथा टोटेनहम ४० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । सेफिल्ड युनाइटेड र म्यानचेस्टर युनाइटेडले शीर्षचारमा पार्न चेल्सी र टोटेनहमलाई पछ्याइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार