कोरोना सङ्क्रमित नाघे २६ सय


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ २२, २०७७

  • काठमाडौँ, २२ जेठ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । सोमध्ये ३१९ पुरुष र १५ महिला हुनुहुन्छ ।

     

    योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ६३४ पुगेको छ । जसमा दुई हजार ४५० पुरुष र १८४ जना महिला छन् । कोरोना सङ्क्रमित जिल्लाको सङ्ख्या भने ६५ पुगेको छ । त्यसैगरी कोरोना भाइरसलाई जितेर आज मात्रै १२ जना घर फर्किनुभएको छ । यससैँगै निको भएर घर फर्कनेको सङ्ख्या २९० पुगेको छ ।

     

    त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा थप एक जना व्यक्तिको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । पाल्पाकै स्थानीय क्वारेन्टिनमा बस्नुुभएका उहाँ भारतबाट पाँच दिन अघि नेपाल आउनुभएको थियो । उहाँलाई स्वास्थ्यमा समस्या भएपछि पाल्पाको तानसेनस्थित मिसन अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा यही जेठ २० गते निधन भएको थियो । मृत्युपछि उहाँको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

     

    पछिल्लो २४ घण्टामा मुलुकभर पीसीआर विधिबाट तीन हजार ८६७ परीक्षण भएको छ भने आरडीटी विधिबाट पाँच हजार १८५ जनामा परीक्षण गरिएको छ । क्वारेन्टिनमा हालसम्म एक लाख ६१ हजार २६२ जना छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट