‘लुका मोड्रिक’ विश्वकप २०१८ का नायक


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन २, २०७५

  • सुजन चालिसे

    काठमाडौँ, साउन २- विश्वकप फुटबल सम्भवत क्रोएसियाली क्याप्टेन लुका मोड्रिकका लागि आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन रह्यो । उनको विश्वस्तरिय प्रदर्शनको सहायतामा क्रोएसियाले आफ्नो विश्वकप यात्रालाई फाइनलसम्म पुर्‍यायो । उपाधि भिडन्तमा फ्रान्ससँग ४–२ गोलअन्तरले पराजित भएपनि विश्वकपको उत्कृष्ट खेलाडीको रुपमा उनले विश्वकपको सुखद अन्त्य गरे ।

    उरुग्वे र इङ्गल्यान्ड जस्ता शक्तिशाली राष्ट्रलाई हराउँदै क्रोएसिया विश्वकपको फाइनलसम्म पुग्न सक्ला भन्ने कुरा कसैले अनुमान समेत गरेका थिएनन् । मिडफिल्डको जादुगरका रुपमा चिनिने मोड्रिकले सबैको अनुमानलाई गलत साबित गर्दै आफु विश्वकै सर्वाेत्कृष्ट खेलाडीमध्ये एक रहेको कुरा प्रमाणित गरे । विश्वकपमा २ गोल गर्दै एक गोलको लागि सहायता समेत गरेका उनले आफ्नो जादुमय खेल देखाउँदै सम्पुर्ण फुटबल प्रेमीको मन जिते । उनले रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

    इङ्गल्यान्डलाई पराजित गरेपछि ईंगलिस क्लब लिभरपुरका पुर्व खेलाडि डेभिड थोमसनले भनेका थिए, “सबै कुरा ठिकै हो तर हामीले उनिहरुसँग लुका मोड्रक छन् भन्ने कुरा बिर्सिएछौँ ।” यसबाट पनि लुका मोड्रिकको खेलस्तरको अनुमान लगाउन सकिन्छ । आफ्नो शान्त र अनुशासित व्यवहार तथा उत्कृष्ट प्रदर्शनका कारण उनको विश्व फुटबल जगतमा सदैव चर्चा चल्ने गरेको छ । उनले गत सिजनमा रियल म्याड्रिडबाट उत्कृष्ट खेल प्रदर्शन गर्दै च्याम्पियन्स लिग उपाधि समेत जितेका थिए । क्लब फुटबलको प्रदर्शन तथा विश्वकपको उत्कृष्ट लयका कारण उनलाई यो बर्षको फिफा बालोन डि ओरको समेत दावेदार मानिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट