‘खेलाडीको पीडा बुझेको छु’– खड्का


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक ५, २०७७

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसंग बुझेको बताएका छन् ।
    नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा खड्काले सो कुरा बताएका हुन् ।


    ‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ । देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको छु । त्यसैले खेलाडीको पीडा बारे मलाई राम्रोसंग थाहा छ ।’ राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका सदस्य खड्काले भने– ‘खेलाडीको पीडालाई सही ठाउँमा राख्न म हरदम प्रयासरत रहने छु । सबैको साथ र सहयोग पाए मात्र त्यो सम्भव छ ।’
    खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताउदै सदस्यमा नियुक्त गरी आफू संलग्न खेलक्षेत्रमा केहि गर्ने अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए ।


    खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खड्को नियुक्तिले सिंगो खेलाडी जगतले गर्वको अनुभूति गरेको बताउदै लामो सयमदेखि खेलकुद क्षेत्रमा योगदान पु¥याएको व्यक्तिलाई सदस्यमा मनोनित गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले अब गठन हुने राखेपको कार्यकारी समितिमा खड्कालाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसंग अनुरोध गरे ।
    खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टले खड्कालाई सदस्यमा नियुक्त गरेकोमा खेलाडी संघ मात्र नभइ सारा नेपाली खेलाडीलाई खुशी तुल्याएको धारणा व्यक्त गरे ।
    खड्कालाई गत असोज २९ गतेको मन्त्रीपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता मध्येका एक हुन् । खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका छन् । उत्ती नै गोल निराजन रायमाझीको नाममा पनि छ । खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्व प्रशिक्षक पनि हुन् । नेपालमै गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिए थिए । खड्का अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभाग प्रमुख पनि हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार