
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले लगातार तेस्रो जित निकालेको छ । बुधबार राति भएको समूह चरण अन्तर्गतको तेस्रो खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा कप्तान लियोनल मेस्सीले पाँचौं मिनेटमा पेनाल्टीबाट गोल गर्र्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको पहिलो हाफ १–० गोलमा सकिएको थियो । दास्रो हाफको ६५ औं मिनेटमा युवा स्टार अंशु फातिको क्रसमा उत्कृष्ट हेडिङ गोल गर्दै जेरार्ड पिकेले बार्सिलोनाको अग्रता २–० को बनाए । त्यसपछि खेलको ७५ औं मिनेटमा डाइनामो किभका लागि भिक्टरले एक गोल फर्काएपनि बार्सिलोना २–१ ले बिजयी भयो । जितसँगै समूह ’जी’ को बार्सिलोनाले ३ खेलमा ९ अंक जोडेको छ । बार्सिलोना समूहको शीर्ष स्थानमा यथावत रहेको छ । ३ खेलमा १ अंक जोडेको किभ तेस्रो स्थानमा रहेको छ ।