युरोपा लिगमा टोटेनहम र आर्सनलको जित, मिलान घरमै पराजित


  • Frontline Nepal

युइएफए युरोपा लिग अन्तरगत गएराति भएको खेलमा प्रिमियर लिग क्लब टोटेनहम र आर्सनलले जित निकाल्दा इटालियन क्लब एसी मिलान पराजित भएको छ ।


समूह चरण अन्तर्गतको खेलमा टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । लुडोगोरेट्सको मैदानमा टोटेनहमलाइृ जित दिलाउन ह्यारी केन, लुकास मौरा र जियोभानी लो सेल्सोले गोल गरे । लुडोगोरेट्सका लागि क्लाउडियो केसेरुलले १ गोल गरेपनि जितको लागि पर्याप्त हुन सकेन । जितसँगै टोटेनहम समूह ’जे’ को शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो जित निकालेको टोटेनहमले ३ खेलमा ६ अंक जोडेको छ । अंक विहीन लुडोगोरेट्स पुछारमा रहेको छ ।


गएरातिनै भएको अर्को खेलमा इंग्लिस क्लब आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेपनि आर्सनलले पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो । इमिरेट्स स्टेडियममा २२ औं मिनेटमा मार्टिन एलिङ्सेनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाएका थिए । तर, ४५ औं मिनेटमा मोल्डेका क्रिस्टोफर हौगेनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरी पुग्यो । खेलको ६२ औं मिनेटमा शेरिफ सिन्यानले आत्मघाती गोल गर्दा आर्सनलले २–१ को अग्रता बनायो । ७० औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए । जितसँगै आर्सनलले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । समूह ’बी’ मा रहेको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा रहेको छ । मोल्डे ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।


इटालियन क्लब एसी मिलान भने युरोपा लिग फुटबलमा पराजित भएको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा मिलान फ्रेन्च क्लब लिलसँग ३–० ले पराजित भएको हो । लिलको जितका लागि युसुफ याजिसीले ह्याट्रिक गरे । उनले खेलको २२औँ, ५५ औँ र ५८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । जितसँगै समूह ’एच’ को लिल शीर्ष स्थानमा उक्लिएको छ । लिलले ३ खेलमा ७ अंक जोडेको छ । मिलान ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा स्पार्टा प्राग्वेले सेल्टिकलाई ४(१ ले हराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट