नयाँ अनुहार समेटिएको पोर्चुगलको एन्डोरामाथी प्रभावशाली जित


  • Frontline Nepal

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तरगत बुधबार राति भएको खेलमा पोर्चुगलले प्रभावशाली जित निकालेको छ । अधिकांश नयाँ अनुहार हावि भएको पोर्चुगलले एन्डोरालाई ७–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा पाँच गोल गरेको थियो । आठौं मिनेटमा पेड्रो नेटोले डेब्यु गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा नयाँ खेलाडी पाउलिन्होले पनि डेब्यु गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २–० ले अघि रह्यो ।


दोस्रो हाफमा अझ प्रभावशाली खेल पस्केको पोर्चुगलले ५६ औं मिनेटमा रेनाटो सान्चेसले गोलबाट ३–० को अग्रता बनायो । लगतै खेलको ६१ औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गरे । ७६ औं मिनेटमा एन्डोराका एमिली गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५–० को अग्रता बनायो । दोस्रो हाफमा मैदान छिरेका क्रिस्टियानो रोनाल्डोले ८५ औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता ६–० को बनाए । त्यसपछि खेलको ८८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई ७–० को जित दिलाए ।


पोर्चुगलका लागि रोनाल्डोको यो १ सय २ औं गोल हो । उनलाई अब अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलको रेकर्ड तोड्न मात्र ८ गोलको आवश्यकता रहेको छ । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलको रेकड भने इरानका अलि डेई को नाममा छ । उनले सर्वाधिक १०९ गोल गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार