अब सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्छ : वरिष्ठ नेता पौडेल



    • फ्रन्टलाइन नेपाल
    • मङ्लबार, मंसिर १६, २०७७

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ ।

    उहाँले तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको व्यास नगरपालिका र निर्वाचन क्षेत्र नं २ अन्तर्गतको ऋषिङ गाउँपालिका जोड्ने सोडेस्थित सेती नदीमाथिको पक्की पुलको उद्घाटन गर्नुभएको हो । उक्त पुलले व्यास नगरपालिका-१३ र ऋषिङ गाउँपालिका-३ लाई जोड्छ । विसं २०७१ असार २९ गते सम्झौता भई विसं २०७७ वैशाख ३० गते उक्त पुलको निर्माण सम्पन्न भएको छ । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको लम्बाइ १०५ मिटर रहेको छ ।

    सो अवसरमा वरिष्ठ नेता पौडेलले पुल निर्माणसँगै यस भेगको विकास निर्माणले गति लिने बताउनुभयो । “गाउँबाट विचलित भएर भागिरहेको मनलाई गाउँमै फर्काउने अभियान निरन्तर सञ्चालन गरिरहनु पर्दछ”, उहाँले भन्नुभयो, “गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्छ । गाउँमा सेवा र सुविधा पुर्‍याएर गाउँमै बस्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।”

    गाउँमै बिजुली, विद्यालय, सडक, खानेपानी पुगेपनि गाउँमा रोजगारी नपुगेकाले गाउँबाट मानिस शहर झर्ने क्रम शुरु भएको नेता पौडेलको भनाइ थियो । “अब गाउँमै रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नेतर्फ सबै सरकार लाग्नुपर्छ”, उहाँले भन्नुभयो । विगतमा देशको राजनीतिक व्यवस्थाको टुङ्गो नहुँदा देश अलमलमा परेपनि अब सबै व्यवस्था टुङ्गिसकेकाले अबको एउटै मात्र ध्यान विकास र समृद्धि हुनुपर्नेमा वरिष्ठ नेता पौडेलले जोड दिनुभयो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार