धनगढी क्षेत्रका सडक स्तरोन्नति गरिँदै


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर २६, २०७७

  • सुदूरपश्चिम, २६ मङ्सिर । धनगढी उपमहानरपालिका क्षेत्रका भित्रका सडक स्तरोन्नतिको गर्न थालिएको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा धनगढीको ट्राफिक चोकदेखि कैलाली नालासम्म एक हजार ३८० मिटर र चटकपुरदेखि क्याम्पस रोडसम्म तीन हजार ६५० मिटर सडक स्तरोन्नति गर्न थालिएको उपमहानगरपालिकाले जनाएको छ ।

    यसबाहेक गुल्म–चर्च, क्याम्पस रोड–जाखौर ताल, मालपोत रोड र हसनपुर रोडलगायत सडक पनि स्तरोन्नति गर्न लागिएको छ । आयोजनाअन्तर्गत नाली, फुटपाथ र कतिपय ठाउँमा साइकल लेनसहित झण्डै दश किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको उपमहानगरपालिकाका इञ्जिीनयर व्दिजराज भट्टले बताउनुभयो । “दोस्रो चरणमा नगर क्षेत्रका थप ३० किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्नका लागि पहल भइरहेको छ”, इञ्जिनीयर भट्टले भन्नुभयो, “सबै सडक स्तरोन्नति हुनसकेमा नगर क्षेत्रको मुहारनै फेरिने छ ।”

    उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड तथा उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्तरुपमा सडक स्तरोन्नति तथा विस्तार कार्यको बुधबार शिलान्यास गर्नुभयो । धनगढीलाई व्यवस्थित र आकर्षक शहरको रुपमा विकास गर्न सडक स्तरोन्नतिका साथै ढल निर्माण, फोहरमैला व्यवस्थापन, दिसाजन्य पदार्थको व्यवस्थापनलगायत काम गर्न लागिएको जनाइएको छ । उपमहानगरपालिकाले फोहरमैलाको व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा वर्षौंदेखि खोजी गरिरहेको भए पनि अझँै टुङ्गो लाग्न सकेको छैन । इञ्जिनीयर भट्टका अनुसार उपमहानगरको ठूलो समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापनका लागि झण्डै ४० बिघा जग्गा आवश्यक पर्नेमा वडा–७ को खुटिया नदी छेउमा जग्गाको खोजी भइरहेको बताउनुभयो ।

    एशियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पाँच वर्षअघि नै धनगढी उपमहानगरपालिकामा ४१ किलोमिटर सडक स्तरोन्नति तथा विस्तार गर्ने भनिएको थियो । त्यति बेला गरिएको लागत अनुमान र डिजाइनअनुसार छुट्याइएको बजेट अहिले अपुग हुने देखिएको छ । क्षेत्रीय शहरी विकास आयोजनाका उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले ठेक्का प्रक्रियामा देखिएको केही समस्याका कारण निर्माणको काम थाल्न ढिलाइ भएको बताउनुभयो । “पाँच वर्ष अघि गरिएको लागत अनुमान डिजाइनअनुसार ‘फिडर’ समेत गरी जम्मा ४१ किमी सडक स्तरोन्नति गर्ने भनिएको थियो”, उहाँले भन्नुभयोे”, “त्यतिबेला छुट्याइएको बजेट र सडकको गुणस्तरलाई समेत ध्यानमा राखेर उपमहानगरपालिकासँग भएको समझदारीअनुसार स्तरोन्नति हुने सडकको लम्बाइ घटाएर काम अघि बढाउनु परेको हो ।”

    सम्झौता हुँदाको समयमा छुट्याइएको बजेट रु एक अर्ब ३५ करोड रहेको थियो । नगर प्रमुख नृपबहादुर वडले यो काम अब चरणबद्धरुपमा गरिने बताउनुभयो । उपमहानगरपालिकाले यो आयोजनाको सफल कार्यान्वयनका लागि सडक क्षेत्र अधिकारभित्र पर्ने संरचना भत्काउने घरधनीलाई सम्मानित गर्ने, करमा छुट दिने, भत्काइएको घर नक्सामा छुट दिनेलगायत कार्यक्रम पनि अघि बढाएको छ । क्षेत्रीय शहरी विकास आयोजनाले कञ्चनपुरको भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कैलालीको गोदावरी नगरपालिकामा पनि शहरी पूर्वाधारसम्वन्धी काम गर्न लागेको जनाइएको छ ।

    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार