विद्यार्थीहरूका उपयोगी लागि ‘फेसबुक डेभलपर्स सर्कल’


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन १४, २०७५

  • किरण खतिवडा

    काठमाडौं, साउन १४ । सूचना तथा प्रविधि विषय पढिरहेका विद्यार्थी (वा, पढिसकेका पनि) अलमलमा हुन सक्छन् । पढेर अब के बन्ने ? पढाइ सकेर के गर्ने ? आफैं निर्णय लिन नसक्ने तथा अरू कसैले उपयुक्त बाटो नदेखाएको अवस्थामा यस्तो बेला अलमल र दुविधा बढ्नु स्वाभाविक हो । यस्तो अवस्थाबाट गुज्रिएका विद्यार्थीहरूका लागि उपयोगी एउटा गु्रप छ फेसबुकमा— फेसबुक डेभलपर्स सर्कल : काठमाडौं । यसमार्फत ज्ञान बटुल्न, नयाँ कुरा सिक्न एवं सूचना तथा प्रविधिसँग सम्बन्धित जानकारी प्राप्त गर्न सकिन्छ । करिअर काउन्सिलिङ र नयाँ–नयाँ प्रविधिका सम्बन्धमा अपडेट हुन यो ग्रुपले मद्दत पुर्‍याइरहेको छ ।

    फेसबुकले विश्वका अधिकांश देशमा ‘फेसबुक डेभलपर्स सर्कल’ खोलेको छ । फेसबुकमै खोलिएका यस्ता ग्रुपलाई उसले प्रत्यक्ष–अप्रत्यक्ष सहयोग समेत पुर्‍याउँदै आएको छ । नेपाली युवाहरूको पहलमा दुई वर्षअघि खोलिएको हो, ‘फेसबुक डेभलपर्स सर्कल स् काठमाडौं’ । यो सर्कलमा जनकपुरका चन्दन ठाकुर नेपालको कार्यक्रम एम्बेसडरका रूपमा कार्यरत छन् । उनलाई यो काममा रवीन गैरे, मणि विवेक आचार्य तथा अदिति गोयलले सघाइरहेका छन् । फेसबुक डेभलपर्स सर्कल स् काठमाडौं विश्वविद्यालयको एउटा क्लबजस्तै हो । यो ग्रुपमा नेपालका अधिकांश डेभलपर्सहरू जोडिएका छन् । सूचना तथा प्रविधि अध्ययनरत एवं यो क्षेत्रसँग सम्बन्धित थुपै्रै व्यक्ति पनि यो सर्कलमा आबद्ध छन् । यसमा बढीजसो प्राविधिक विषय तथा स्टार्ट–अपका सम्बन्धमा छलफल–बहस हुन्छ । कार्यक्रमका एम्बेसडर चन्दनका अनुसार यो स्थानीय स्तरमा हुने एक प्रकारको जमघट हो, जसले एक–अर्कासँग पेसागत रूपमा सम्बन्ध बनाउन सघाउँछ । आफूले जाने बुझेका विषय सेयर गर्न सकिन्छ ।

    ‘फेसबुक डेभलपर्स सर्कल स् काठमाडौं’ अनलाइन र अफलाइन दुवै माध्यममा सञ्चालित छ । अनलाइनमा प्राविधिक विषयहरूमा छलफल हुन्छ । बढीजसो फेसबुकका विषयमै छलफल केन्द्रित हुन्छ । यो ग्रुपमा कसैले नजानेका, नबुझेका विषयमा सोधपुछ गर्न सकिन्छ । अफलाइनअन्तर्गत यो फेसबुक ग्रुपले विभिन्न इभेन्ट आयोजित गर्छ, जसमा साइबर सेक्युरिटी, आर्टिफिसियल इन्टिलिजेन्ट, युआर, एआरजस्ता विषयमा छलफल गरिन्छ । यो ग्रुपमा रजिस्टर गरेर विद्यार्थीहरूले इभेन्टमा भाग लिन सक्छन् जहाँ एकपटकको वर्कसपमा ८० जनाले निस्शुल्क भाग लिन सक्ने व्यवस्था छ । यस्ता वर्कसपले करिअर बनाउन, नयाँ सम्भावना पहिल्याउन, नजानेका कुरा बुझ्न सघाउँछन् । फेसबुकले नेपाललगायत विश्वभरका यस्ता कार्यक्रममा प्रत्यक्ष सहयोग पुुर्‍याइरहेको छ ।

    यस्ता इभेन्ट तथा वर्कसपबाट विद्यार्थीहरूलाई के र कसरी अगाडि बढ्ने भन्ने जानकारी मिल्छ । ‘फेसबुक डेभलपर्स सर्कल : काठमाडौं’ का एम्बेसडर चन्दन भन्छन्– यस्ता कार्यक्रम आयोजित गर्दा विद्यार्थीहरूको रुचि, चाहना तथा सम्भावनाका सम्बन्धमा पनि जानकारी प्राप्त हुन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार