पशुपति क्षेत्रमा लागुपदार्थ निषेध


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, माघ १४, २०७४

  • काठमाडौँ, माघ १४ — विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ । यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि उक्त अभियान सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर नजिकको पीपलबोटलगायत क्षेत्रमा दैनिक सुरक्षा गस्ती गरी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने गरिएको छ । गत मंसिर तेस्रो सातादेखि कोषको नेतृत्वमा महानगरीय प्रहरी वृत्त गौशाला, सशस्त्र प्रहरी बल पशुपति मन्दिर वेसक्याम्पलगायत सरोकार भएका निकायको संलग्नतामा बिहान, दिउँसो र बेलुकी तीनपटक गस्ती गरी लागुपदार्थ सेवन एवं बेचबिखनमा संलग्नलाई रंगेहात पक्राउ सुरु गरिएको सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।

    राज्यले वैधानिक रुपमा प्रतिबन्ध लगाए पनि शिवरात्रिमा गाँजा, भाङ, धतुरोजस्ता लागुपदार्थ सेवन आरम्भ गर्ने दिनका रुपमा मनाउन खोज्ने गलत चलनलाई अन्त्य गर्न लागिएको कोषले जनाएको छ । श्रीपञ्चमीलाई विद्या आरम्भ गर्ने दिनका रुपमा लिएजस्तै शिवरात्रिलाई गाँजा आरम्भ गर्ने दिनका रुपमा नलिन युवा वर्गलाई अनुरोध गरिएको छ ।

    लागुपदार्थको बढी प्रयोग हुने सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर क्षेत्रलाई ध्यान, योग केन्द्रका रुपमा विकास गरी धार्मिक एवं आध्यात्मिक वातावरण बनाउने काम सुरु गरेको जनाइएको छ ।
    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार