गुरु चरन दासको पुस्तकले मेरो जीवनलाई परिवर्तन गर्‍यो – डा.प्रकाश बन्जाडे


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ १७, २०७४

  • काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस तहको अध्ययन पूरा गरेका डा.प्रकाश बन्जाडे नयाँ–नयाँ पुस्तक पढ्न औधि रुचाउँछन् । मेडिकल रिसर्च सम्बन्धि उनका थुप्रै लेख तथा अनुसन्धानहरु प्रकाशित छन् । डा. बन्जाडे युनाइटेड नेसन्स युथ एण्ड स्टुडेन्ट एसोसियसन नेपालका अध्यक्ष हुन् । ग्रामिण क्षेत्रमा स्वास्थ्य शिक्षा प्रदान गर्न र सहज स्वास्थ्य सेवा दिलाउँन उनी सक्रिय छन् । बन्जाडेसँग गरिएको पुस्तक वार्ता :

    पुस्तकको संगतमा कसरी पुग्नुभयो ?
    अर्घाखाँचीको जनता मावि पढ्दा म युथ रेडक्रस सर्कलको अध्यक्ष थिएँ । त्यसबेला रेडक्रस र इन्सेकले मेरो नाममा पत्रपत्रीका, बुलेटिन र किताब पठाइदिन्थ्यो । पछि गएर बिस्तारै आफै किताब किन्ने बानी बस्यो । यसरी म पुस्तकको संगतमा पुगें ।

    तपाईंलाई कस्ता खालका पुस्तक पढ्न मनपर्छ ?
    मलाई खासगरी बायोग्राफी, अबिच्युअरी, धेरै लामो समय अध्ययन गरेर लेखेका पुस्तकहरु ।

    तपाईंलाई सबैभन्दा बढी छोएको पुस्तक ?
    ‘द डिफिकल्टी अफबिइङ गुड्’ । यो पुस्तक गुरु चरन दासले लेख्नु भएको हो । जीवनलाइ कसरी सार्थक बनाउने भन्नेबारे यो पुस्तकले सिकाउँछ । खासमा यो पुस्तक महाभारतको सार हो । आफूलाई कसरी अगाडी बढाउने, अफ्ठ्याराहरुलाई कसरी जितेर अगाडी बढ्ने त्यस बारेमा सिकाउँछ । मेरो जीवनलाई परिवर्तन गरेको पुस्तक कुन हो भनेर सोध्नु हुन्छ भने यही नै हो ।

    पुस्तकको छनौट कसरी गर्नुहुन्छ ?
    न्युयोर्क टाइम्स  र द टेलिग्राफको बुक रिभ्यु सेक्सन हेरेर छनौट गर्छु । र, नाम चलेका लेखकहरुको रिभ्यु हेरेर पुस्तक किन्ने गर्छु ।

    पुस्तकमा लगानी कत्तिको गर्नुहुन्छ ? मासिक वा वार्षिक यति रकम बराबरको किन्छु भन्ने त्यस्तो केही छ कि ?
    पकेटमा पैसा भए सम्म किन्छु । जहिले पनि पुस्तक पसल छिर्दा म रित्तो फर्किन्नँ । पढ्नै नभ्याएपनि बुक किनेर फर्किन्छु । वर्षमा त्यस्तै १० हजार रुपैंयाँ जति खर्च हुन्छ ।

    प्राय : कुन समयमा पढ्नुहुन्छ ?
    जतिखेर फुर्सद मिल्छ त्यति बेला । प्राय: बेलुकाको समयमा । मेडिकल क्षेत्रमा भएकाले पढ्ने समय खासै हुँदैन ।

    तपाईले दोहोर्‍याएको पुस्तक कुन हो ?
    लिंकन, गान्धी, मण्डेला, ओबामा, चर्चिलको बायोग्राफी । र, सिद्धार्थ ।

    मनमा सबैभन्दा बढी कुन पुस्तकले छाप छोड्यो ?
    लिंकन र ओबामा । जीवनमा केही नभएको अबस्थामा पनि मानिसभित्र आशा हुनुपर्छ । र, संघर्ष गर्दै अगाडी बढ्यो भने जे पनि गर्न सकिन्छ भन्ने उदाहरण हुन्, लिंकन । ओबामाको मानवताप्रतिको उदारता र संघर्षले प्रभाब पार्‍यो । जो कोहीले ओबामाको अटोबायोग्राफी पढ्दा मन पराउँछन् ।

    पढ्न चाहेको तर नपाएको कुनै पुस्तक छ ?
    धेरै छन् । मेकिङ द मोडर्न वल्र्ड, लभ इन् द टाइम अफ कोलेरा, द बुक अफ अबिचुअरी  । द वेल्थ एण्ड पोजेटिभ अफ नेशन

    पुस्तक पढ्न किन जरुरी छ ?
    पहिलो कुरा रिडर नभइकन लिडर बन्न सकिदैन । अध्ययनशिलव्यक्तिले परिवार, समाज, संस्था र देशलाई अगाडी बढाउन सक्छ ।आफ्नो जीवनलाई सहजबनाउन सक्छ ।

    अरुलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
    त्यस बखतको नेपाल, भीम ब पाँडे, बिनोद चौधरीको आत्मकथा, अमर न्यौपानेको करोडौं कस्तुरी, बिपीका सबै पुस्तकहरु । द डिफिकल्टी अफ बिइङ् गुड् । पावर अफ पोजेटिभ थिङ्किङ् र सिद्धार्थ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार