जे गर्न पनि पैसा नै चाहिदो रहेछ : प्राश्ना शाक्य (गायिका)


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर १६, २०७४

  • नेपाली सांगीतिक क्षेत्रमा प्राश्ना शाक्य कुनै नौलो नाम होईन । इमेज एफएम ९७.९ की कार्यक्रम सञ्चालक समेत रहेकी प्राश्नाले स्वर भरेका ‘आवाज देउ’, ‘गाउले जीवन’ गीत निकै लोकप्रिय छन् । तेर्‍ह वर्षकै उमेरमा ‘छिमेकी साँझ’ बाट सांगीतिक यात्रा सुरु गरेकी प्राश्ना नाँच्न, गाउँन भनेपछि हुरुक्कै हुन्थिन् । उनले झण्डै ३० वटा नेपाली चलचित्रमा पाश्र्व गीत गाएकी उनले अहिले सम्म झण्डै पाच सय गीत गाईसकेकि छिन् । पार्ट टाइम रेडियो र फुल टाइम भने उनी गायन क्षेत्रमै छिन् । उनीसँग गरिएको कुराकानी :

     

    स्कुल पढ्दा तपाईं के बन्न चाहनुहुन्थ्यो ?
    गायिका बन्न चाहन्थें । क्यासेट प्लेयर सुनेर बज्ने गीतहरुप्रति म आकर्षित हुन्थें । सर कक्षामा पढाईरहँदा, ट्युसन पढ्न जाँदा पनि मेरो ध्यान गीततिरै हुने गथ्र्यो । गीत संगीतप्रति म क्रेजी थिए भनौं न । टिभी हेर्नै मिल्दैनथ्यो । अँ, एकचोटी एयर होस्टेस बन्ने रहर थियो । तर, त्यसका लागी चाहिन्छ हाईट् भन्ने लाग्यो । फेरी मन गरिन ।

     

    सांगीतिक कार्यक्रमका सिलसिलामा कहाँ–कहाँ पुग्नुभयो ?
    अस्ट्रेलिया, युके, सिंगापुर, मलेसिया, दुबई, कतार, हङकङ पुगें ।

     

    स्टेज प्रोगामको मजा के मा छ ?
    मिश्रित फिलिङ्स हुन्छ । दर्शकहरुसँग सिधै अन्र्तक्रिया हुन्छ । रमाइलोका साथै अलिअलि नर्भस पनि भईन्छ । राम्रो गर्नुपर्छ भन्ने चुनौती पनि हुन्छ । दर्शकहरुको मन जित्नुपर्‍यो ।

     

    स्टेजमा पुग्दा तपाईको कुन गीतको माग बढी हुन्छ ?
    गाउँले जीवन, मलाई आवाज देउ, ठूली–ठूली, शिरैमा शिरबन्दी गीतहरुको बढी माग हुने गर्छ ।

     

    ‘मलाई आवाज देउ’ गीतले तपाईलाई चर्चित बनायो । यसको पृष्ठभुमीबारे थोरै सुनौं न ।
    २०५८ मा रेकर्ड भएको आवाज एल्बममा ७ वटा गीतहरु समाबेश थिए । ति मध्येको यो एउटा गीत हो, ‘मलाई आवाज देउ’ । यो गीत बजारमा आएपछि मलाई चर्चामा ल्यायो । म देश तथा विदेशका थुप्रै सांगीतिक कार्यक्रमहरुमा पुगें । यसअघि हाई हेलो, आवाज, उदयन, प्राश्ना बजारमा आईसकेका छन् ।

     

    तपाई कस्तो पारिवारिक पृष्ठभुमीमा जन्मिनु भो ?
    मेरो बुबा टेबलटेनिसको कोच हो । आमा भने हाउस वाइफ । बुबा मलाई खेलाडी बनाउन चाहनुहुन्थ्यो । तर, अहिले गायिका बनेपनि उहाँ खुसी नै हुनुहुन्छ । म घरको जेठी छोरी हो । मेरो बहिनी धरानको बैंकमा जागिर गर्छिन् । भाई प्रज्जवल ग्रयाजुएटमा पढ्दै छ ।

     

    अतिततिर फर्केर हेर्दा सबैभन्दा बढी के मिस गर्नुहुन्छ ?
    मेरो हजुरबालाई खुब मिस गर्छु । उहाँ संगीत गुरु पनि हो । आमाले खाना बनाउनुहुन्थ्यो । हजुरबा संगीत बजाउने । अनि मैले दिनभर गीत गाएर सुनाउँथे । मैले गाएको गीत घरमा पालेको कुकुरले पनि सुन्थ्यो । छेउमा आउँथ्यो । म पप्पी भनेर बोलाउँथे । यति माया गथ्र्यो । मेरा सामानहरु कसैलाई कसैलाई चलाउँन दिन्नथ्यो । कुकुर बितेको एक वर्षपछि हजुरबा पनि बित्नुभयो । ति क्षणहरु फेरी फर्केर आउन पाए लाग्छ । ०७४ मा मेरो हजुरमा पनि बित्नुभयो । (भाबुक हुँदै) १४ वर्ष कुकुर बाँच्यो । पप्पीप्रति मेरो अगाध प्रेम छ । मानिसको माया परिबर्तन हुन्छ । उसको मायामा कत्ति परिबर्तन भएन ।

     

    पप्पीको त्यति धेरै माया ?
    मेरो आमाले कुकुर दाइजो दिन्छु भन्नु भएको थियो । पप्पी मर्दा त म रोएको छु । हजुरमा बित्दा पनि म धेरै रोएको छु ।

     

    विवाह आफ्नो हातमा हुन्छ कि हुँदैन ?
    हुँदैन होला । लेखान्त हुन्छ होला जस्तो लाग्छ । छुट्टिनु पर्छ भनेर विवाह गरिदैन । र, त्यो कसैको हातमा पनि हुँदैन ।

     

    तपाईको वैवाहिक सम्बन्ध पनि धेरै टिकेन । किन हो ?
    चार वर्षसँगै बसेपछि मेरो वैवाहिक सम्बन्ध टुट्यो । त्यसपछि सम्बन्ध अघि बढ्न सकेन । जब म सम्बन्ध बिच्छेदका लागी अदालत पुगें । तब मलाई एकदमै लाज लाग्यो । त्यहाँ यति धेरै डिभोर्स केसहरु देखें कि मैले सोचेकै थिईनँ । सामान्य मानिसका पनि डिभोर्स हुने गर्छन् । तर, बाहिर आउँदैनन् । यति अफ्ठ्यारो भयो कि त्यो बेला म बेस्सरी रोएँ ।

     

    फेरी विवाह गर्नुहुन्छ ?
    गर्दिनँ त भन्दिन । त्यस्तो सोच पनि छैन । आर्शिबाद त्यसरी आउँछ । म संगीतमै खुसी छु । भोलीका दिनमा के हुन्छ थाह छैन ।

     

    त्यो सम्झिँदा कुनै पछुतो लाग्यो ?
    लागेन ।

     

    जीवन के रहेछ ?
    पढाई रै’छ । फेल पनि भईन्छ । पाठ त सिकिन्छ । जसरी लिनुहुन्छ त्यस्तै हुन्छ । सुन्दर रुपमा हेर्ने कि, तनाबपूर्ण भएर हेर्ने आफ्नै हातमा हुन्छ । म चाहिं सुन्दर ढंगबाट जिउन चाहन्छु । सोचे जस्तै भईरहेको पनि छ । हरेक कुरामा राम्रो, नराम्रो पक्ष त भई नै हाल्छ ।

     

    प्रेम के हो ?
    समझदारी हो । एक अर्काप्रतिको विश्वास । समझदारी भएपछि माया जन्मिन्छ । प्रस्ताब त आईरहन्छन् । कसैले चोट बुझोस् जस्तो लाग्छ । तर, जीवनमा देखेको हुन्न, लेखेको हुन्छ ।

     

    जीवनमा के चिज बढी कमाउनुभयो ?
    पैसा भन्दा दर्शक, श्रोताहरुको माया बढी कमाएँ ।

     

    गायनमा लागेर के पाएँ जस्तो लाग्छ ?
    पद, पैसा र प्रतिष्ठा । अहिले म यसैका आधारमा बाँचिरहेको छु ।

     

    जीवनमा सफल बन्न के–के कुरा चाहिदो रहेछ ?
    धैर्यता, मिहिनेत । नत्र टिक्न एकदम गार्‍हो छ । लडिन्छ, हिम्मत हारिन्छ । फेरी उठ्नुपर्छ । धैर्यता, कडा मिहिनेत भने चाहिन्छ । समय अनुसार चल्नुपर्‍यो ।

     

    सांगितिक क्षेत्रमा लागेर बाँच्न सहज छ ?
    जीवनयापन गर्न सहज छ । घर, गाडीको रहर भने पूरा होला नहोला

     

    तपाईलाई मनपर्ने चलचित्रहरु ?
    म त कमेडी क्रेजी हो । कन्यादान, छक्कापञ्जा, प्रेमपिण्ड, पशुपतिप्रसाद, जात्रा ।

     

    तपाईलाई मनपर्ने कलाकारहरु ?
    नयाँ कलाकारमा अन्जु पन्त । श्रेया घोसाल, पुरानामा अरुणा लामा, गोपाल योञ्जन, सत्य, स्वरुप, नारायण गोपाल, कालीप्रसाद बास्कोटा, अल्मोडा । हिन्दीमा अरिजित । सबै खालका सुन्छु । क्लासिकल, पप, सेन्टिमेन्टल, गजल । दोहोरी गीतमा नाँच्न मनपर्छ ।

     

    तपाईलाई मनपर्ने खानेकुरा ?
    पिज्जा, नेपाली खाना, कफी, सिजलर, चप्सी, चाइनिज र कोरियन खाना मनपर्छ ।

     

    तपाईं प्राय गईरहने कुनै क्याफे, रेस्टुराँ छ ?
    यही क्याफे भन्ने छैन । द बेकरी क्याफे चैं गईरहन्छु । शान्त वातावरण भएको क्याफे मनपर्छ ।

     

    फुर्सदको समय कसरी बिताउनु हुन्छ ?
    घुम्न, मुभि हेर्न मन पराउँछु । साथीभाईहरुसँग समय बिताउन, ब्युटि पार्लर जान, सपिङ गर्न पनि खुब मनपर्छ । कुनै बेला भने पत्रपत्रिका पढेर समय बिताउँछु ।

     

    तपाईलाई फेसबुकमा कस्तो खालका म्यासेज आउँछन् ?
    मिश्रित खालका । कतिले मन पराएर प्रेम प्रस्ताब नै राख्छन् । कतिले साथी र दिदीका रुपमा ब्यबहार गर्छन् । कतिले मेरा बारेमा धेरै कुरा खोतल्न खोज्छन् । यो फेसबुकले संसार नै सानो बनाए झैं लाग्छ । कहिलेकाहीं पुराना साथीहरु पनि भेटिन्छन् ।

     

    ग्याजेटहरु के–के चलाउनुहुन्छ ?
    मोबाइल, आइप्याड, । म घडी परफ्युमको सौखिन हो । गिफ्ट दिनेले पनि यही दिन्छन् ।

     

    कस्तो पहिरन लगाउन मन पर्छ ?
    सजिलो हुने खालका । जिन्स, टिसर्ट ।

     

    अरुले तपाईको कुन कुराको तारिफ गर्छन् ?
    मिलनसार, मीठो हाँसो, आँखा राम्रो छ, क्युट छौ भन्छन् । लुक्स त सधैं एउटै रहन्न । गीतको तारिफ आउँदा अझ बढी खुसी लाग्छ ।

     

    तपाईको उमेर कति पुग्यो ?
    भन्दिनँ ।

     

    उमेर ढल्किएकोमा चिन्ता लाग्छ ?
    कहिलेकाहीं लाग्छ । प्रबिधीमा पछाडी छु कि लाग्छ । पढाईका हिसाबममा पनि खासै ट्यालेन्ट हुन सकिन । कमाउने कि सिक्ने । समय छैन जस्तो लाग्छ ।

     

    जीवनमा सबैभन्दा शक्तिशाली कुरा के रहेछ ?
    पैसा रहेछ । पैसा भयो भने जे पनि गर्न सकिन्छ । जे गर्न पनि पैसा नै चाहिदो रहेछ । मानिस रातारात चर्चित पनि हुन्छ । कि त एकदमै ट्यालेन्ट हुनुपर्‍यो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार