ज्यान गुमाएका पर्यटक मजदुरका परिवारलाई राहतबापत ५ लाख रुपैंयाँ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर १२, २०७५

  • नरेन्द्र रौले
    पदयात्राका क्रममा ज्यान गुमाएका १२ जना नेपाली गाइड, सहयोगी तथा भरियाका परिवारलाई राहत बापत प्रति व्यक्ति रु ५ लाख रुपैंयाँका दरले ६० लाख रुपैंयाँ प्रदान गरिएको छ । ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा सोमबार यो रकम पदयात्री सूचना व्यबस्थापन प्रणाली (टिम्स) को कोषबाट प्रदान गरिएको हो । पदयात्रा क्षेत्रमा ज्यान गुमाएका पर्वतिय पर्यटन मजदुरको आश्रित परिवारलाई सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको हो । पदयात्रा व्यवस्थालाई मर्यादित र व्यवस्थित बनाउँनका लागी नेपाल पर्यटन बोर्ड र टानले टिम्सलाई कार्यान्वयनमा ल्याएको हो ।

    टिम्स कार्डवापत एजेन्सीमार्फत समुहमा पदयात्रामा जानेहरुबाट प्रति पर्यटक १ हजार रुपैंयाँ लिने गरिएको छ भने यसलाई टानबाट जारी गर्ने गरिन्छ । आफुखुसी पदयात्रामा जाने पर्यटकबाट २० अमेरिकी डलर लिएर नेपाल पर्यटन बोर्डमार्फत कार्ड जारी गर्ने गरिन्छ । यसरी संकलित रकमबाट जम्मा गरि ३० प्रतिशत टानले, ३० प्रतिशत नेपाल पर्यटन बोर्डले, ३० प्रतिशत टान र नेपाल पर्यटन बोर्डको जोइन्ट फन्डबाट र १० प्रतिशत रकम मजदुरले पाउने प्रावधान अनुसार मजदुरहरुलाई राहत बापत प्रति व्यक्ति ५ लाखको दरले प्रदान गरेको हो ।

    अहिले संघियतालाई कार्यान्वयनको क्रममा सगरमाथा क्षेत्र र लाङटाङ क्षेत्रमा टिम्सकार्डको प्रयोगमा स्थानियले रोक लगाएकोले ति क्षेत्रहरुमा मृत्यू भएका मजदुरहरुले राहत पाएका छैनन् । बिगत केही वर्षदेखी टिम्स कार्यान्वयनमा आएको हो । ३३ जनाले यसअघि क्षतिपूर्ति पाईसकेका छन् । यसअघि क्षतिपूर्ति बापत २ लाख ५० हजार दिईदै आएको थियो ।

    यसपटकबाट त्यसको दोब्बर रकम प्रदान गर्न थालिएको हो । ‘टिम्स कार्यान्वयनमा नआएको भए मृतकका परिवारले राहत पाईदैनथ्यो ।’ टानका अध्यक्ष नवराज दाहालले भने, ‘यसको सुन्दर र महत्वपूर्ण पक्ष यही हो ।’ टिम्स खारेज हुनुपर्छ भन्ने हल्ला चलिरहेका बेला उनले यसलाई अझ प्रभाबकारी ढंगले अघि बढ्नेमा जोड दिए ।

    पदयात्रामा गएका पर्यटकहरुले टिम्स नलगेका अवस्थामा मृत्यू भएका मजदुरहरुलाई राहतको प्रावधान गरिएको छैन । टिम्स सम्बन्धमा बिगतमा टानको कार्य समितिको केही बेरुजुको कारण टानले नेपाल पर्यटन बोर्डबाट पाउनुपर्ने रकम उपलब्ध हुन सकेको छैन । मृत्यू भएका बाहेक अन्य मेडिकल र उद्धारका रकमहरु अझै पाउन सकेका छैनन् । टानले टिम्सकार्ड बापत पाउनु पर्ने रकम ६० करोड भन्दा माथी छ । यी रकमहरु नपाउदा टानले पर्यटन सम्बन्धी कुनै गतिविधिहरु गर्न नसकेको र रकम नेपालपर्यटन बोर्डमा थन्कीरहेको टानका महासचिब आङ पेम्बा शेर्पाले बताउनु भयो ।

    टिम्स कोषबाट पदयात्राका क्रममा ज्यान गुमाएका मृतकहरु दाकबहादुर आले मगर, भिमबहादुर गुरुङ, जिबन लिम्बु, खेमबहाुर श्रेष्ठ,संसार गुरुङ्ग, इन्द्र बहादुर गुरुङ, पेम्बा कुइसाङ शेर्पा, छिरिङ शेर्पा,डेना अन्जुक भोटे, फुर्पु भोटे, नरबहादुर छन्त्याल र पेमदोर्जी शेर्पाको परिवारले राहत पाएका छन् ।

    नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अन्र्तराष्ट्रियस्तरमा नेपालको छवि राम्रो बनाउनमा पर्यटक मजदुरको ठूलो हात रहेको बताए । आगामी दिनमा पदयात्राका क्रममा आइपर्ने दुर्घटना कम गर्नमा सबै पक्ष लाग्नुपर्नेमा नेपाल पर्यटन बोर्ड संचालक समितिका सदस्य कृष्ण अर्यालले जोड दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार