उदयपुरमा एक वर्षमा ३८ वालिका बलात्कार : हत्याका घटनामा पनि वृद्धि


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस ८, २०७७

  • चित्रकुमार कार्की, उदयपुर, ८ पुस । पछिल्लो एक बर्ष उदयपुरमा बलात्कारका घटना बढेको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक उदयपुरले बुधबार सदरमुकाम गाईघाटमा आयोजना गरेको समिक्षा कार्यक्रममा मानवअधिकारसँग सम्बन्धित एक सय ६ घटनामध्ये ६० वटा वलात्कार घटना रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।
    बलात्कारभित्र सबैभन्दा बढि बालबालिकासँग सम्बन्धित ३८ वटा रहेको इन्सेक प्रतिनिधि भरत खड्काले बताए । तथ्यांकले आफ्नो बुबा, आफन्त, छिमेकीबाट बालिकाहरु बलात्कारको सिकार बन्न बाध्य भएको देखाइएको छ । इन्सेकले बर्ष पुस्तकमा समेट्न लागेका घटनामध्ये ३ बर्षदेखि १७ बर्ष उमेर समुहका बालिका बलात्कार रहेको जनाएको छ । घर, जंगल, बाटो कहीँ पनि बालिका सुरक्षित नरहेकाले समाज कता जाँदै छ भन्ने तथ्यांकले चिन्तासमेत गरेको छ । त्यसैगरी मानवअधिकारसँगै जोडिएका महिला बलात्कार घटना २२, वहुविवाह १५, घरेलुहिंसा १२, हत्या र हत्याको प्रयास ९, अवैद्य गर्भपतन १, पत्रकारमाथि दुर्व्यवहार १, राज्यपंक्षबाट कुटपिट एक, वम विस्फोट तीन, वालविवाहका घटना २ वटा रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रहरी, प्रशासनमा आएका घटनालाई अभिलेखिकरणसँगै जिल्लाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारका सवाललाई समेत मानवअधिकारसँग जोडेर तथ्यांकहरु ल्याउनु पर्ने सुझाब दिए । उनले कोभिड १९ ले पारेको असर, शिक्षा, स्वास्थ्यमा भएको व्यथिति, निषेधाज्ञामा जनताले भोगेका समस्यालाईसमेत उजागर गर्न सके राज्यलाई जिम्मेवार बनाउन सकिने धारणा व्यक्त गरे । प्रजिअ पाण्डेले विकास निर्माणमा भएका ढिलासुस्ति, सरसफाइको क्षेत्रमा भएका काम कारवाही, विद्यालय बन्द हुँदा शिक्षा क्षेत्रमा परेको असर लगायतका बिषय मानवअधिकारसँग जोडेर हेर्नु पर्ने बताए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले प्रभावकारी कानुन कार्यान्वयनकै कारण मानवअधिकारसँग जोडिएका घटनाहरु बाहिर आउन सहज भएको बताए । उनले अवस्था भयावह भन्दा पनि गरिएका प्रयास र पीडितलाई न्याय दिलाउन खेलेको भुमिकालाई उजागर गर्न सक्दा हिंसाका घटनाहरु क्रमशः घट्दै जाने बताए । जिल्ला अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले तथ्यांकले कानुन कार्यान्वयन र अदालती प्रकृयालाई नै सहजता पुर्याउन मद्दत पुग्ने बताए ।

    उनले अबको मानवअधिकारको मुद्दा सुशासन, पारदर्शिता, जवाफदेहिता हुनु पर्ने बताए । गैसस महासंघका केन्द्रिय सल्लाहकार सृजना दनुवारले इन्सेकका दस्तावेजीकरण विगतमा भएका जघन्य अपराधका घटनाका दोषिलाई कारवाही गर्न सहज भएको बताईन् । गैसस महासंघका केन्द्रिय सदस्य महेश्वरी राईले नयाँ संबिधान कार्यान्वय भएको अवस्थासमेत नागरिकता पाउने अधिकार सुनिश्चित नभएको बताईन् ।

    मानवअधिकार संजालका संयोजक भरत खड्काले अपराध घटनाका पीडित पक्षलाई क्षतिपुर्ति पाउनु पर्ने सवाल अवको मानवअधिकारको मुद्दा बनाउनु पर्ने सुझाब दिए । नेपाल पत्रकार महासंघ प्रदेश सचिब हरिकुमार राईले मानव अधिकार संरक्षण र सम्र्बद्धन गर्न सबै एकजुट हुनु पर्ने बताउनुभयो । मानवअधिकार उल्लंघन हुनुमा शक्तिको दुरुपयोगले पनि साथ दिएको बताए । महिलाअधिकारकर्मी नजवुल खानले बलात्कार जस्ता जघन्य अपराधलाई सकेसम्म गाउँघरमा नै मिलाउने प्रयास गर्नु कानुनी कारवाहीका लागि गर्नु मुख्य चुनौती भएको बताए ।

    उनले सामाजिक विभेद, चेतना, पुरातन सोच, अन्धविश्वास कायम रहँदा र राजनीतिक स्थायीत्व नहुँदा मानवअधिकार उल्लंघनका घटनाले प्रसय पाएको बताए । पत्रकार भक्तिविलास पोखरेलले नागरिकलाई सचेत र जिम्वेवार बनाउन सके त्यति नै मानव अधिकार उल्लंघनका घटना वाहिर आउने र न्युनिकरणमासमेत सहज हुने बताए । उनले सामाजिक बिखण्डनका घटनालाई मानवअधिकारको बिषय बस्तु बनाउनु पर्ने सुझाब दिए । गैसस महासंघका जिल्ला अध्यक्ष सुमन परियारले मानवअधिकारका बिषय बस्तुमा नागरिकको चासो बढे मात्र दण्डहिनता न्युनिकरण हुने बताए । उनले मानवअधिकारका सवाल समय, परिस्थिति अनुसार परिवर्तन हुँदै जाने भएकाले यस प्रति नागरिकलाई जिम्वेवार बनाउनु पर्ने धारणा व्यक्त गरे ।

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार