न्यौपानेलाई थप सात दिन थुनामा राख्न आदेश


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर १२, २०७७

  • भक्तपुर, १२ मङ्सिर । ठगी मुद्दामा पक्राउ परेका भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)का पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।

    गतबुधबार केन्द्रीय अनुसन्धान ब्युरोल (सिआइबी)ले पक्राउ गरेको न्यौपानेविरुद्ध अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकसँगै घुस दिएको मुद्दा दायर भएको थियो । आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त पाठकलाई ७८ लाख रूपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो ।

    पक्राउ परेका न्यौपानेसहित पाँच जनाविरुद्ध ठगी मुद्दामा व्यूरोले अनुसन्धान गरिरहेको छ । इञ्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितताबाट २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु देखिएको र न्यौपानेको नाममा मात्रै तीन करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बेरुजु रही ठगी गरेको अभियोग न्यौपानेलाई लाग्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार