नगरवासीको आर्थिक अवस्थाको तथ्याङ्क सङ्कलन गर्दै माडी नगरपालिका


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर १८, २०७७

  • चितवन, १८ मङ्सिर । माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा खटाएर विवरण लिन घरघरमा पठाएको हो । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार अब पाँच दिनभित्र खटिएकाले नगरपालिकालाई विवरण बुझाउँदै छन् ।

    विवरण आएसँगै नगरपालिकाको वास्तविक जनसङ्ख्या र उनीहरूको आर्थिक अवस्था थाहा हुने छ । एक व्यक्तिले वार्षिकरूपमा कति आम्दानी गर्दछ, स्वदेशमा र विदेशमा कहाँ रोजगारी गर्दछ, व्यापार व्यवसाय के सञ्चालन गरेको छ ? जस्ता आर्थिकसँग जोडिएका सबै तथ्य प्राप्त हुने उहाँले जानकारी दिनुभयो । नगरवासीको बैंक खातादेखि जग्गाको अवस्थासमेत नगरपालिकालाई जानकारी हुने गरी विवरण सङ्कलन गरिएको छ ।

    यही तथ्याङ्कको आधारमा नगरवासीलाई वर्गीकरण गरेर आवश्यक सहयोग गरिने भएको छ । अति विपन्नको सूचीमा परेकालाई जीवनस्तर उकास्नका लागि आवश्यक सहयोग नगरपालिकाले गर्ने ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अति विपन्नका लागि स्वास्थ्य, शिक्षालगायतमा के सहयोग गर्न सक्छौँ ? योजना बनाएर काम गर्ने छौँ ।” पहिलो चरणमा अति विपन्नलाई नगरपालिकाले रकम तिरेर स्वास्थ्य बिमा गरिदिने ढकालको भनाइ छ ।

    यसका लागि नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । नगरपालिकाले विपन्न एक परिवारलाई रु एक लाख बराबरको स्वास्थ्य बिमा गर्न लागेको हो । नगरपालिकामा ४४ हजार जनसङ्ख्या रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार