फोहोरलाई कसरी मोहोरमा बदल्ने? त्यसको सफल उदाहरण बनेको छ, भक्तपुर जिल्लामा सञ्चालित ‘नेपाल फूलबारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस प्रालि’ । फोहोरमैला व्यवस्थापनका क्षेत्रमा मुलुककै उदाहरणीय र अग्रणी स्थानमा पर्ने यो कम्पनीले हाल ९० जनालाई रोजगारी प्रदान गरिरहेको छ। र, विभिन्न सङ्घ–संस्थाबाट सम्मानित समेत भइसकेको छ।
भक्तपुरको सूर्यविनायक–४ स्थित नेपाल फूलबारीले भक्तपुरका १८ हजार घरधुरीबाट फोहोर सङ्कलन गरिरहेको छ। घर मात्र होइन, भक्तपुरका विभिन्न सङ्घ–संस्था, अस्पताल र होटलबाट फोहोर सङ्कलन गरिरहेको यस कम्पनीले फोहोरमैला व्यवस्थापनमा फरक मोडल अपनाएको छ। भक्तपुरका तीन वटा नगरपालिकामा सेवा दिइरहेको कम्पनीले भक्तपुरको सूर्यविनायक–४, चित्रपुरमा २२ रोपनी जग्गा भाडामा लिएको छ। सोही ठाउँमा कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने फोहोर छुट्याउने काम गरिन्छ।
प्रत्येक बिहान नेपाल फूलबारीका ३५ वटा गाडीहरू फोहोर उठाउन भक्तपुरका सडकमा गुड्ने गर्छन्। वातावरण सफा र स्वच्छ राख्न मात्र होइन, बेरोजगारी समस्यालाई पनि कम्पनीले सम्बोधन गरेको छ।वातावरण स्वच्छ, सफा र हराभरा राख्न नेपाल फूलबारीको ठुलो क्षेत्रफलमा १३ प्रकारका विभिन्न बोटबिरुवा रोपिएका छन्। यहाँ थरीथरीका फूलहरू रोपिएका छन्। ‘यस कम्पनीमा कार्यरत झन्डै २३ परिवारले तिहारमा माला उन्ने फूल किन्नै पर्दैन,’ फूलबारीमा कार्यरत एक कर्मचारीले भने, ‘अरू बेला पनि आवश्यक पर्दा किनिरहनु पर्दैन।’
कम्पनीले फोहोर सङ्कलनका लागि १७–१८ वटा जीपीएस जडित गाडीहरू प्रयोग गर्छ, जसले गर्दा सेवाको प्रभावकारिता र अनुगमनमा समेत सहयोग पुर्याएको छ। कम्पनीले युरोपियन युनियनको सहयोगमा ‘ग्रीन शिफ्ट नेपाल’ परियोजनाअन्तर्गत कर्मचारीको सुरक्षा सामग्री (फर्स्ट एड बक्स, फायर एक्सटिङ्गुइसर, पीपीई) उपलब्ध गराएको छ।
नेपाल फूलबारी भक्तपुरमा मात्र सीमित छैन। उपत्यकाबाहिर मोरङको विराटनगर महानगरपालिका र सुन्दरहरैँचा नगरपालिकामा पनि फोहोरमैला व्यवस्थापनका क्षेत्रमा क्रियाशील छ। कम्पनीले हाल विराटनगरमा १२५ र सुन्दरहरैँचामा ७० जनालाई रोजगारी प्रदान गरेको छ। वार्षिक ५१० रुपैयाँ तिरेपछि यस कम्पनीको सदस्यता लिन पाइन्छ। कम्पनीले आगामी दिनमा आजीवन सदस्यताको प्रावधान ल्याउने तयारी गरिरहेको छ।
फिल्ड व्यवस्थापक केदारप्रसाद घिमिरेका अनुसार कम्पनीले फोहोरमैलालाई ट्रान्सफर स्टेसनमा प्लास्टिक, कागज, धातु, खाद्यवस्तु र ई–वेस्ट लगायतका विभिन्न वस्तुहरूमा वर्गीकरण गर्छ। यसरी कुहिने र नकुहिने वस्तुलाई वर्गीकरण गरेपछि करिब ६५–७० प्रतिशत फोहोर यहीँ व्यवस्थापन गरिन्छ र बाँकी ५ प्रतिशत मात्र बञ्चरे डाँडा ल्यान्डफिल साइटमा पठाइन्छ। कम्पनीले ‘फोहोर एम्बुलेन्स’ जस्ता नवीन अवधारणा पनि अपनाएको छ, जसले आकस्मिक फोहोर र मरेका जनावरहरूको तत्काल व्यवस्थापन गर्दै आएको छ।
उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका साक्षरहरूलाई नेपाल फूलबारीले ठुलो सङ्ख्यामा रोजगारी प्रदान गरेको छ। अमित बलामीजस्ता युवाहरूले कम्पनीमा जेसीबी चलाएर आफ्नो परिवारको रोजीरोटी चलाएका छन्।
रिक्साबाट जन्मिएको नेपाल फूलबारी
‘नेपाल फूलबारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस प्रालि’ को सुरुवात एउटा सामान्य रिक्साबाट भएको थियो। कम्पनीका अध्यक्ष हुन्, ओखलढुङ्गाको सिद्धिचरण–२ का राजेश कटुवाल। विद्यार्थी छँदै कटुवालले वि.सं. २०५७ सालमा धुम्बाराहीबाट फोहोर सङ्कलन कार्यको थालनी गरेका थिए।
चाबहिलको पशुपति कलेजमा बिहान पढाइ र दिउँसो फोहोर सङ्कलन गरेर उनको विद्यार्थी जीवन बित्यो। वि.सं. २०५८ सालमा जाइका (JICA) ले फोहोरमैला व्यवस्थापनबारे तालिम दिएको थियो। त्यस तालिमले उनलाई यस क्षेत्रका बारेमा विस्तृत ज्ञान मिल्यो। मनैदेखि समर्पित भएर उनले यो काममा हात हाले। वि.सं. २०७० सालमा निजी कम्पनीका रूपमा नेपाल फूलबारी दर्ता भयो।
कटुवालले हालसम्म ६० देश घुमे। ती देशहरू घुम्दा उनको चासो एउटै रह्यो— ती देशहरूले कसरी फोहोरमैला व्यवस्थापनमा काम गरिरहेका छन्? घुमेका ६० देशमध्ये सबैभन्दा राम्रो उदाहरण उनले चीनमा भेटे। पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा गरिने व्यवस्थापन उनलाई एकदमै नमुना र उदाहरणीय लाग्यो। यस्तै, अमेरिकाको टेक्सासमा पनि उनले अन्यत्रभन्दा फरक मोडल देखे। त्यहाँ दिनमै तीन चोटि फोहोर उठाइन्छ। कुहिने, नकुहिने र धारिला वस्तुहरूको वर्गीकरण गरिन्छ।
सबै देश घुम्दा सिकेको ज्ञानलाई कटुवालले आफ्नो कम्पनीमा उपयोग गर्न खोज्छन्। उनका सङ्घर्षका दिनहरू धेरै छन्। ‘मैले यो काम छाडेँ भने अन्य पेसाबाट धेरै आम्दानी गर्न सक्छु,’ कटुवाल भन्छन्, ‘तर, मैले छाडेँ भने धेरैको रोजगारी गुम्छ।’
कर्मचारी कल्याण र सामाजिक सुरक्षामा जोड
नेपाल फूलबारीले आफ्ना कर्मचारीहरूलाई उच्च प्राथमिकतामा राखेको छ। उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको छ। भक्तपुर इन्टरनेसनल अस्पतालसँगको सहकार्यमा कर्मचारीको निःशुल्क उपचार, बिमा र मेडिकल बिल भुक्तानीको व्यवस्था समेत गरिएको छ।
कम्पनीमा आबद्ध कामदारहरूका लागि आवास, खाना र उनीहरूका सन्तानलाई कक्षा १० सम्म निःशुल्क पढाइको व्यवस्था गरिएको छ। फोहोरमैला व्यवस्थापनका क्षेत्रमा नमुना काम गरेबापत थुप्रै सङ्घ–संस्थाले कम्पनीलाई सम्मान तथा अवार्ड प्रदान गरेका छन्।
केहीअघि युरोपियन युनियनको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा ‘ग्रिनसिफ्ट’ परियोजना सञ्चालनमा आएको थियो। यसै परियोजनाअन्तर्गत निजी फोहोरमैला उद्यम तथा अपसाइकिलिङका लागि ‘नेपाल फूलबारी’ उत्कृष्ट ६ कम्पनीभित्र छनोटमा परेको थियो। जसबापत कम्पनीले २० लाख रुपैयाँ नगद अनुदान प्राप्त गरेको थियो।
फोहोरमैला व्यवस्थापनमा चुनौती र अवसर
फोहोरमैला व्यवस्थापन क्षेत्रमा काम गर्ने कामदारहरूप्रति समाजमा अझै पनि नकारात्मक धारणा व्याप्त छ। मानिसहरूको नकारात्मक दृष्टिकोणकै कारण दक्ष कामदार पाउन गाह्रो भएको फूलबारीमा लामो समयदेखि कार्यरत केदारप्रसाद घिमिरे बताउँछन्।
यद्यपि, नेपाल फूलबारीले कर्मचारीहरूलाई सम्मानजनक वातावरण र अवसर प्रदान गरिरहेको छ। श्रमिकहरूले कामअनुसार यहाँ राम्रो कमाइ गरिरहेका छन्। यस कम्पनीमा कार्यरत कतिपयले बङ्गुरपालन र हाँसपालन जस्ता व्यवसाय गरी आत्मनिर्भर बनेका छन्।
बङ्गुरपालन र हाँसपालन गर्नेहरूका लागि कम्पनीले दानापानी उपलब्ध गराइरहेको छ। नेपाल फूलबारीले वातावरण सफाइमा मद्दत मात्र गरेको छैन, उद्यमशीलतालाई पनि जोड दिएको छ। कम्पनीको जग्गामा तरकारी खेती गरिएको छ। यहाँ बस्ने कर्मचारीले बाहिरबाट तरकारी खरिद गर्नु पर्दैन।
‘नेपाल फूलबारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस प्रालि’ फोहोरलाई मोहोरमा बदल्ने उद्देश्यका साथ वातावरणीय स्वच्छता, कर्मचारी कल्याण र आर्थिक वृद्धिको त्रिकोणात्मक लक्ष्यमा अगाडि बढिरहेको छ। फोहोरमैला क्षेत्रमा काम गर्न चाहनेहरूका लागि यो कम्पनी एउटा नमुना नै हो।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














