न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रसुवा बाढी पीडितहरुको सहयोगका लागि किताब बेचेर आर्थिक सहयोग जुटाईएको छ । बुक्स फर फ्लुड भिक्टिम्स नाम दिईएको कार्यक्रमबाट १ हजार ५ सय २ अमेरिकी डलर अर्थात् करिब २ लाख ३० हजार नेपाली रुपैयाँ संकलन भएको छ ।
रसुवा, नुवाकोट, धादिङ लगायत बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुस्तक बिक्री तथा सहयोगमार्फत उक्त रकम संकलन गरिएको हो । बाढीपीडित परिवारको सहयोगमा प्रदान गरिने आयोजक पासाङ नुरु शेर्पा एवं प्रतिक्षा थकालीले बताएका छन् । संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ ।
न्यूयोर्कमा सम्पन्न कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका लेखक, साहित्यकार, पत्रकार, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा साहित्यप्रेमी गरी ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकहरुबाट पुस्तक डोनेसनका रुपमा प्राप्त भएको थियो । कार्यक्रममा विभिन्न लेखकका पुस्तकहरु लेखक स्वयंको उपस्थितिमा बिक्री गरिएको थियो । पुस्तक खरिद गर्दै सहभागीहरूले बाढीपीडित परिवारका लागि सञ्चालन गरिएको सहयोग अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।
परम्परागत औपचारिक कार्यक्रमको शैलीभन्दा फरक ढंगले आयोजना गरिएको यो कार्यक्रममा लेखक, पाठक र समुदायबीचको प्रत्यक्ष संवाद, पुस्तक परिचय तथा नेपालको रसुवा लगायतका जिल्लामा आएको महाविपत्तिलाई प्राथमिकता दिइएको थियो ।
‘साहित्यलाई मानवीय सेवासँग जोड्ने उद्देश्यले यो कार्यक्रम ग¥यौं ।’ आयोजक पासाङ नुरु शेर्पाले भने, ‘थोरै भए पनि पीडितहरुको घाउमा मल्हम लगाउन कोसिस गरेका छौं ।’ यो अभियान सफल बनाउन आफ्ना पुस्तक उपलब्ध गराउने लेखक तथा साहित्यकार, पुस्तक खरिद गरी सहयोग गर्ने पाठक, कार्यक्रममा उपस्थित अतिथि, संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मी, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति पासाङ नुरु शेर्पा र प्रतीक्षा थकालीसहित खसोखास, नेप्योर्क तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले धन्यवाद व्यक्त गरेका छन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















