काठमाडौं – जेनजी आगजनीका कारण पूर्ण रुपमा क्षति व्यहोरेको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपर मार्केटले एक विज्ञप्ति जारी गर्दै सोमबार १० बजेदेखि टंगाल स्टोर औपचारिक रुपमा ग्राहकका लागि खुल्ने जानकारी दिएको हो ।
भाटभटेनी सुपर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले विषम परिस्थितिमा पनि साथ दिने ग्राहक, कर्मचारी र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । उनले आगजनीको समयमा कम्पनीले व्यहोरेको पीडा र सङ्घर्षको स्मरण गरेका छन् । ‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए । तर, पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ,’ उनले भनेका छन्, ‘हामी एउटा निष्कर्षमा पुग्यौँ– खरानीबाट फेरि उठ्ने छौँ ।’
कम्पनीले आगजनीबाट ध्वस्त भएका १२ वटा स्टोरमध्ये १० वटा स्टोरलाई छोटो समयमै पुनः सञ्चालनमा ल्याउन सफल भएको छ । बाँकी दुईवटा स्टोर (दमक र हेटौंडा) को पुनःनिर्माण पनि अन्तिम चरणमा रहेको र छिट्टै सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
आगजनीको कठिन समयमा पनि भाटभटेनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारी सुरक्षित राखेको थियो । कर्मचारीको बोनस कतौटी नगरी र रोजगारीबाट नहटाई कम्पनीले आफ्नो व्यावसायिक उत्तरदायित्व पूरा गरेको छ । ‘हामीले कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ, गत वर्षको दसैं बोनससमेत कटौती नगरी उनीहरुको भूमिकालाई निरन्तरता दियौँ,’ अध्यक्ष गुरुङले भने ।
भाटभटेनीले काठमाडौँमा निर्माणाधीन बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाली बालबालिकाले अन्तर्राष्ट्रिय स्तरको उपचार सुविधा प्राप्त गरुन् भन्ने उद्देश्यले सो रकम खर्च गरिएको कम्पनीले जनाएको छ ।
भाटभटेनीले आफ्ना ग्राहकहरुलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएको छ । ‘हाम्रो दुःखमा साथ दिने सम्पूर्ण सहयोगी हातहरु, चौबीसै घण्टा खटेर पुनःनिर्माण गर्ने कर्मचारीवर्ग र पर्खाइमा रहनु हुने भगवान्रुपी ग्राहकप्रति नमन गर्न चाहन्छौँ,’ अध्यक्ष गुरुङले विज्ञप्तिमार्फत भनेका छन् ।
टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकहरुलाई नियमित रुपमा सेवा दिइने र गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीले जनाएको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















