काठमाडौं । रुपन्देही, सैनामैना–७ की हेमकुमारी थापाले दुई महिनाअघि स्वास्थ्यमा जटिल परिस्थितिको सामना गर्नुप¥यो । स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन कष्टकर बन्यो । तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो । अहिले उनी खुसी हुँदै घर फर्किएकी छन्।
दुई महिनाअघि मस्तिष्कघात भएपछि हेमकुमारीको स्वास्थ्य अवस्था कमजोर बनेको थियो । हातले राम्ररी काम गर्न छाडेको थियो । हात झम्झमाउने, लुलो हुने, शरीरमा असहज महसुस हुने र बोलीसमेत लरबरिने समस्या थियो । सामान्य दैनिक काम गर्नसमेत कठिन भएपछि परिवारका सदस्यहरु उनको उपचारका लागि विभिन्न विकल्प खोज्न थाले ।
उपचारकै क्रममा परिवार उनलाई लिएर भारत पुग्यो । त्यहाँ उपचारका लागि चार लाख भारतीय रुपैयाँ खर्च लाग्ने बताएपछि परिवार थप चिन्तित बन्यो । ठूलो रकम जुटाउनुपर्ने बाध्यतावीच आफन्तको सल्लाहमा उनीहरु काठमाडौंस्थित केएमसी आइपुगे । भारतमा उपचारका लागि ठूलो रकम खर्च हुने अवस्थामा स्वदेशमै विशेषज्ञ सेवा पाउने आशाले परिवारमा नयाँ भरोसा पलायो ।
केएमसी पुगेपछि हेमकुमारीको उपचारको जिम्मेवारी न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेल र उनको टोलीले लियो । चिकित्सकीय परीक्षण र आवश्यक जाँचपछि उनको मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा नसा करिब ९० प्रतिशत साँघुरिएको पत्ता लाग्यो । यसले गर्दा मस्तिष्कमा पर्याप्त रक्तप्रवाह हुन नसक्ने र उनलाई पटक–पटक पक्षघातको जोखिम रहेको चिकित्सकले बताए ।
डा. पौडेलका अनुसार हेमकुमारीको सीटी स्क्यान र सेरेब्रल एन्जियोग्राफीमार्फत परीक्षण गरिएको थियो । एन्जियोग्राफीबाट मस्तिष्कको मुख्य रक्तनलीमा गम्भीर अवरोध देखिएपछि तत्काल उपचार प्रक्रिया अघि बढाइयो ।
‘उहाँको मस्तिष्कको मुख्य नसा करिब ९० प्रतिशत साँघुरिएको थियो । समयमै उपचार नभएको भए नसा पूर्ण रूपमा बन्द हुने र गम्भीर पक्षघात हुने जोखिम थियो । त्यसैले हामीले क्याथल्याबमा खुट्टाको धमनीबाट मसिनो तार र क्याथेटर (पातलो नली) प्रवेश गराएर मस्तिष्कको प्रभावित नसासम्म पु¥यायौँ । त्यसपछि साँघुरिएको भागमा बेलुन एन्जियोप्लास्टी गरी नसा फराकिलो बनायौँ र स्टेन्ट राखेर रक्तप्रवाह सहज बनायौँ,’ डा. पौडेलले भने ।
उनका अनुसार उपचार प्रक्रिया सफल भएपछि हेमकुमारीको स्वास्थ्यमा छिट्टै सुधार देखियो । इन्टरभेन्सन प्रक्रिया सम्पन्न भएको करिब एक घण्टामै उनको अवस्थामा सकारात्मक परिवर्तन देखिएको र दुई दिनको अस्पताल बसाइपछि घर पठाउने तयारी गरिएको उनले बताए ।
यस उपचारको विशेषता भनेको शरीरमा ठूलो चिरफार नगरी रक्तनलीकै माध्यमबाट मस्तिष्कको प्रभावित भागसम्म पुगेर उपचार गर्नु हो । बेलुन एन्जियोप्लास्टी र स्टेन्ट प्रत्यारोपणमार्फत साँघुरिएको रक्तनली खुला बनाउने यो प्रविधिले हेमकुमारीको उपचारमा महत्वपूर्ण भूमिका खेलेको चिकित्सकको भनाइ छ ।
उपचारपछि हातको समस्या र झमझमाउने अवस्थाबाट राहत पाउँदै जाँदा हेमकुमारीको आत्मविश्वास पनि फर्किन थाल्यो। अस्पताल आउँदा चिन्ता र अन्योलमा रहेकी उनी डिस्चार्ज हुने बेला निकै खुसी देखिइन् । ‘मेरो रोग निको पार्न मिहिनेत गर्ने डाक्टर, नर्सलगायत सबैलाई धन्यवाद। उहाँहरुले राम्रो उपचार र माया दिनुभयो । म निकै खुसी छु,’ हेमकुमारीले भनिन् ।
आमाको उपचार सफल भएपछि छोरी बबिना थापा पनि निकै खुसी छिन् । आमालाई ठूलो शल्यक्रिया नगरी अत्याधुनिक प्रविधिबाट सफल उपचार गरिदिएको भन्दै उनले केएमसीका चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरिन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















