काठमाडौँ । काठमाडौँ उपत्यकामा बिक्री वितरण हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग सङ्घले साबिककै मूल्य अर्थात् प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ग्यास बिक्री वितरण गर्न निर्देशन दिएको हो । घटेको मूल्य यही असोज २ गते शुक्रबारदेखि लागू हुनेछ ।
गत भदौ १४ गते आइतबार कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको केही खण्ड कटान गरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । मुख्य राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यास आपूर्ति गर्ने उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरूबाट सिलिन्डर रिफिल गरी वैकल्पिक (लामो) मार्गबाट ग्यास ल्याउनु परेको थियो ।
वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लागत बढेको भन्दै सङ्घले गत भदौ १८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको मूल्य २,०६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा जोडेर प्रतिसिलिन्डर २,१६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न उद्योगीहरूलाई भनेको थियो । अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक खोलेर यातायात सुचारु भएसँगै एल।पी।ग्यासका बुलेटहरू सामान्य रूपमै काठमाडौँ आउन थालेपछि ढुवानि भाडा घटेको हो ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















