काठमाडौं । गायिका सुनितामी परियार र नायक पल साह को नयाँ गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ । लोक शैलीको यस गीतमा सुनितामी परियार र बसन्त थापा को स्वर रहेको छ भने भिडियोमा परियार र साहको आकर्षक अभिनय तथा नृत्य प्रस्तुत गरिएको छ। गीतमा नवराज पन्तको शब्द र श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका हुन्, जसले भिडियोमा ग्रामीण परिवेश र आधुनिक प्रस्तुतिको सन्तुलन देखाएका छन् । गायिका सुनितामी परियार नेपाली लोकसंगीत क्षेत्रमा स्थापित नाम हुन् । उनले हालसम्म करिब एक हजार गीतमा स्वर दिइसकेकी छन् र गायनसँगै अभिनय तथा नृत्यमा पनि सक्रिय रहँदै आएकी छन् । चार वर्षअघि खेम सेन्चुरीसँग गाएको ‘रुमाल साट्न पर्दैन’ गीत निकै चर्चित बनेको थियो, जसमा नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । उक्त गीतले युट्युबमा करिब ५० लाख भ्युज पाउँदै उल्लेखनीय सफलता हासिल गरेको थियो । यस्तै पञ्चेवाचा गीत ‘सुनी मायालाई’ गीत पनि चर्चीत मानिन्छ ।
उक्त गीतमा सुनितामीसँगै इश्वर सिंहको स्वर रहेको छ । करिब डेढ दशकदेखि निरन्तर संगीत क्षेत्रमा सक्रिय परियारले हालसम्म १८ भन्दा बढी देशमा सांगीतिक प्रस्तुति दिइसकेकी छन् । केही समयअघि मात्र जापानका विभिन्न सहरमा एक महिना लामो सांगीतिक कार्यक्रम सम्पन्न गरेर फर्किएकी उनी नयाँ गीत ‘‘माया हिरिक्कै’ मार्फत पुनः दर्शकमाझ आएकी छन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।















