काठमाडौँः काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लागेको ताला अन्ततः ११४ दिनपछि खुलेको छ । लामो समयको विवाद र आन्दोलनपछि समाज कल्याण परिषद्ले पुस्तकालयको ताला खोलेपछि पाठकहरुमा खुसीको सञ्चार भएको छ ।
बुधबार साढे १२ बजे समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय, वडा कार्यालयका प्रतिनिधिहरु सहभागी भएर भृकुटिमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लागेको ताला खोलिएको हो । तर, समाज कल्याण परिषद्ले ताला खोलेर साँचो आफैंसँग राख्ने निर्णय लिएपछि केही समय विवाद उत्पन्न भएको थियो । समाज कल्याण परिषद् भृकुटीमण्डप व्यवस्थापन विभागका प्रशासन प्रमुख खगनाथ रेग्मीलाई आक्रोशित पाठक र नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले पुस्तकालय भवनबाट बाहिर निस्किनै दिएनन् ।
भृकुटीमण्डप व्यवस्थापन विभागका प्रशासन प्रमुख रेग्मी जब काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयबाट बाहिर निस्किन खोजे, ढोकामै बसेका आक्रोशित पाठकहरुले निस्किनै दिएनन्, नाराबाजी गरे । समाज कल्याण परिषद्, पुस्तकालय सञ्चालक समिति र पाठकबीच लिखित सहमतिपछि मात्र बाहिर निस्किन दिने अड्डी कसे । नेपाल प्रहरीले सुरक्षा दिए पनि रेग्मी निरिह देखिन्थे । पाठक, पत्रकार र नेविसंघका कार्यकर्ताले एकोहोरो रेग्मीलाई प्रश्नको वर्षा गरेका थिए ।
माथिको आदेश भन्दै उम्किन खोजेका विभागका प्रशासन प्रमुख रेग्मीलाई कुनै हालतमा आक्रोशित पाठक र नेविसंघका कार्यकर्ताले निस्किन नदिएपछि लिखित सम्झौता भयो । जसअनुसार साउन २५ गतेदेखी पुस्तकालय नियमित रुपमा खुलाउने सहमति भएको छ । पुस्तकालयका तर्फबाट लिला भट्टराई, भृकुटीमण्डप व्यवस्थापन विभागका प्रशासन प्रमुख रेग्मी, लेखक तथा सम्पादक बिमल आचार्य, नेविसंघ अध्यक्ष करुणा कटुवालको सहमतिमा २५ गतेदेखी खोल्ने सहमतिमा कागज गरिएपछि मात्र स्थिती सामान्य भएको थियो ।

पुस्तकालय र समाज कल्याण परिषद्बीच लामो समयदेखि भाडा र बक्यौता रकमलाई लिएर विवाद चलिरहेको थियो । परिषद्ले भाडा नतिरेको भन्दै पुस्तकालयमा ताला लगाएको थियो भने पुस्तकालयले भने आफू नाफामूलक नभई सेवामूलक संस्था भएको र सम्झौता अनुसार छुट पाउनुपर्ने जिकिर गर्दै आएको थियो । विवाद उत्कर्षमा पुगेपछि पाठकहरु र नेविसंघ लगायतका विभिन्न समूहले पुस्तकालय खुलाउन भन्दै ११४ दिनसम्म आन्दोलन गरेका थिए ।
सरकार, पुस्तकालय व्यवस्थापन र आन्दोलनरत पक्षबीच वार्ता र लिखित सहमतिपछि ताला खोल्ने निर्णय भएको हो । आन्दोलनको नेतृत्व गरेका नेपाल विद्यार्थी संघका प्रतिनिधिहरूका अनुसार, सरकारले सार्वजनिक पुस्तकालयलाई विशेष प्राथमिकतामा राख्नुपर्ने, बन्द हुँदाको समयको क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए । समाज कल्याण परिषद्ले आफैसँग साँचो राख्ने निर्णय लिएपछि लेखक तथा सम्पादक बिमल आचार्यले आक्रोशित बन्दै सरकारले पुस्तकालय नखोल्ने नियत भएको आक्रोश पोखे । राष्टिय पुस्तकालयमा भएका किताबहरु कुवाएर सडाउने षडयन्त्र भएको उनले आरोप लगाए ।
पुस्तकालय सञ्चालनबारे बोल्दै नेविसंघकी अध्यक्ष करुणा कटुवालले भनिन्, “हामीले निरन्तर दबाबमूलक कार्यक्रम गरिरहेका थियौँ । आज ताला खुलेको छ, अब साउन २५ गतेबाट नियमित पठनपाठन सुरु हुनेछ । हामी पुस्तकालयको ताला खुल्नुलाई मात्र नभई ७५३ वटै स्थानीय तहमा सार्वजनिक पुस्तकालयको अभियानको सुरुवातका रूपमा लिएका छौँ ।”
कटुवालले पुस्तकालयका लिला भट्टराईलाई विपी कोइरालाको पुस्तक र व्यवस्थापन विभागका प्रशासन प्रमुख खगनाथ रेग्मीलाई कलम उपहार दिएकी थिईन् ।
पुस्तकालयको ताला खुलेको खबर सुनेर पुगेकी विद्यार्थी दीपा पोखरेलले खुसी व्यक्त गर्दै भनिन्, “म पहिलो पटक यहाँ आएकी हुँ, यहाँका पुस्तकहरू हेर्न पाउँदा निकै खुसी लागेको छ। अब नियमित पढ्न आउने योजना छ ।” लेखक लोकरञ्जन पराजुलीले सार्वजनिक पुस्तकालयहरु केवल पुस्तक पढ्ने ठाउँ मात्र नभई चेतना र ज्ञानका केन्द्र भएको बताए ।
लामो समयपछि ताला खुलेर पुस्तकालयमा पुस्तक पल्टाउन पाउने वातावरण बनेपछि पाठक, विद्यार्थी र स्थानीय बासिन्दाले यसलाई ’ज्ञानको ढोका’ खुलेको रूपमा लिएका छन् । सार्वजनिक पुस्तकालय सञ्चालन गर्न सरकारले बजेटको व्यवस्था गर्नुपर्ने र यसमा सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















