काठमाडौं । बाढी पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री कार्यालयको उद्धार कोषमा १ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैंयाँ ट्रान्सफर भएको छ । कोटेश्वरको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा बिहीबार १ लाख रुपैंयाँ पठाउँन खोज्दा भुलवश १० लाख रुपैंयाँ ट्रान्सफर भयो ।
सुयोग्य सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले भुलवश जम्मा भएको रकम फिर्ता गरिदिन प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषलाई सम्बोधन गर्दै निवेदन लेखेका छन् ।
सहकारीले कोषमा रु १ लाख १ हजार १ रुपैयाँ योगदान गर्ने निर्णय गरेको थियो । बिहिबार ग्लोबल आइएमई बैंक लिमिटेडको खातामा कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने क्रममा भुलवश १० लाख १ हजार १ रुपैयाँ ट्रान्सफर भएको थियो । प्रमुख कार्यकारी अधिकृत कार्कीका अनुसार ट्रान्सफर गर्न खोजेको रकमभन्दा बढी गएको ९ लाख फिर्ता गरिदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई पत्र लेखेका छन् ।
सहकारीले कोषमा योगदान गर्ने रकम १ लाख १ हजार १ रुपैयाँ छुट्टै ट्रान्सफर गर्ने बताएको छ । रकम ट्रान्सफर भएको विवरणसमेत निवेदनसँगै संलग्न गरिएको सहकारीले जनाएको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















