काठमाडौं । उज्यालो नेपाल पार्टीको युवा तथा विद्यार्थी विभागको संयोजकमा राज मैनाली नियुक्त भएका छन् । सुनापती गाउँपालिका ४ रामेछापका सामाजिक अभियन्ता मैनालीलाई उज्यालो नेपालले उक्त जिम्मेवारी दिएको हो । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर मैनाली सामाजिक कार्यमा सक्रिय व्यक्ति हुन् ।
‘तपाईको समाजप्रतिको सकारात्मक प्रभाव, सामाजिक र राजनीतिक कार्यमार्फत पु¥याउँदै आउनु भएको योगदानको कदर गर्दै उच्च सम्मानका साथ उज्यालो नेपाल पार्टीको विधान, २०८२ को दफा ३० (२) अनुसार उज्यालो नेपाल पार्टीको केन्द्रीय युवा तथा विद्यार्थी बिभाग संयोजकका रुपमा मनोनयन गर्ने निर्णय गरिएको छ ।’ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको हस्ताक्षर अंकित पत्रमा लेखिएको छ ।
मैनाली रेडक्रस सोसाइटी, नेपाल स्काउट, होटल तथा पर्यटन व्यवसाय संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ लगायत विभिन्न संघसंस्थामा आबद्ध छन् । सुनापति गाउँपालिका रेडक्रस सोसाइटीका सचिव र नेपाल स्काउट सुनापती गाउँपालिकाका प्रमुख आयुक्त, एड्भान्स लिडर तथा प्रदेश स्काउट विपद व्यवस्थापनको मूल कमिटी सदस्यमा पनि हुन् । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीमा २०८२ मंसिरदेखी उनी सक्रिय छन् । नयाँ जिम्मेवारीपछि संगठन निर्माणमा उनी सक्रिय छन् ।
भूकम्पमा विभिन्न जिल्लामा उद्धार तथा राहतमा सक्रिय उनले कोरोना महामारीका बेला बीपी राजमार्गमा अलपत्र यात्रुलाई निःशुल्क खाना खुवाउने काम गरेका थिए । यस्तै कोभिड महामारीका बेला रामेछाप, काभ्रे र सिन्धुलीका सुरक्षा निकायको प्रमुखहरुलाई संयुक्त बैठक आयोजना गरी कोभिड नियन्त्रण र त्यस बेलामा हुने विभिन्न अपराधिक गतिविधि नियन्त्रणमा उनले भूमिका खेलेका थिए । ‘उज्यालो नेपालले दिएको जिम्मेवारी इमानदारीतापुवर्क पूरा गर्नेछु ।’ मैनालीले भने ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














