मध्यविन्दु (नवलपुर) : नवलपुरको चोरमारामा ‘युवा उद्यमशीलताः सोचदेखि सफलतासम्म’ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नवलपुरको स्थानीय युवाहरुमा उद्यमशीलताको विकास गर्ने र उनीहरुका नवीन सोचलाई व्यावसायिक रुप दिने उद्देश्यले आयोजित कार्यक्रममा उद्यमी राज कार्की मुख्य वक्ताका रुपमा उपस्थित थिए । सुट्मालाका कार्यकारी निर्देशक एवम् सीईओ तथा परम्परागत सीपमा आधारित युवा सञ्जालका अध्यक्ष समेत रहेका विगत केही वर्षदेखि देशका विभिन्न स्थानमा युवाहरुलाई स्वरोजगार, सीप विकास र उद्यमशीलताबारे कार्कीले अभियान चलाउँदै आएका छन् ।
‘सफलता कसैको भाग्यमा लेखिएको हुँदैन, यो त दृढ संकल्प, सहि सोच र निरन्तर मिहिनेतले आफ्नै हातले लेख्ने कुरा हो ।’ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले भने ‘विगतदेखि नै म यही विश्वासका साथ युवाहरुलाई आफ्नै माटोमा केही गर्न प्रेरित गर्दै आएको छु ।’ चोरमाराका युवाहरुको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा मुख्य उत्प्रेरकको रुपमा आफ्ना विचार राख्न पाउँदा कार्कीले हर्ष व्यक्त गरे । यस अभियानलाई सफल बनाउन खटिएका मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी लगायत नगरपालिकाप्रति उनले विशेष कृतज्ञता प्रकट गरे ।
मध्यविन्दु क्षेत्रमा उद्यमशीलताको नयाँ लहर ल्याउने र स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई साकार पार्न बलियो आधार तयार गर्ने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो ।

फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















