डडेलधुरा । नेकपा (एकीकृत समाजवादी) पृष्ठभुमि भएका हालका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता बहादुर सिंह साउद सो पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवदुर्गा गाउँपालिका-०४, सिरोडमा आयोजित एक विशेष कार्यक्रमबीच साउद कांग्रेसमा प्रवेश गरेका हुन्।
नवप्रवेशी साउदलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा उम्मेदवार नैनसिंह महर, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार हरिना कामी र सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री गोविन्द बोहरा लगायतका नेताहरूले खादा र टीका लगाएर पार्टीमा स्वागत गरे।
पार्टी प्रवेश गर्दै साउदले लामो राजनीतिक अनुभवपछि अहिलेको कम्युनिष्ट राजनीतिबाट जनताको भलो नहुने निष्कर्षमा पुगेको बताए। उनले भने, “अहिलेको नेकपा परित्याग गरी कांग्रेस रोज्नुको मुख्य कारण जनताको चाहना हो। जनताको अपेक्षा र मुलुकको विकास नेपाली कांग्रेसले मात्र पूरा गर्न सक्छ भन्ने विश्वासका साथ म यहाँ आएको हुँ।”
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेस डडेल्धुराका नेताहरुले साउदको राजनीतिक पृष्ठभूमि र सक्रियताको कदर गरिने बताए। त्यस्तै, नवप्रवेशीहरूलाई उनीहरूको योग्यता र क्षमता अनुसार पार्टीमा उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे।
नेताहरूले कांग्रेस सधैं लोकतन्त्र र जनताको पक्षमा उभिने पार्टी भएको बताउँदै साउदको आगमनले स्थानीय स्तरमा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














