काठमाडौँ । आगामी चैत फाल्गुन २१ मा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै नागरिक समाजका विभिन्न क्षेत्रका अगुवाहरूले ‘नागरिक खबरदारी पत्र–२०८२’ सार्वजनिक गरेका छन् । पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानका तर्फबाट जारी गरिएको उक्त पत्रले नेपालमा ‘लोकतान्त्रिक पर्यावरणीय समाजवाद’ को आधार तयार गर्न राजनीतिक दल, सरकार र सरोकारवालाहरूलाई आग्रह गरेको छ।
जनताका विभिन्न संघर्ष, क्रान्ति र विद्रोहबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशिताजस्ता उपलब्धिहरूलाई थप सुदृढीकरण गर्दै नागरिक अधिकार सुनिश्चित गर्न यो अभियान सुरु गरिएको हो ।
खबरदारी पत्रका मुख्य बुँदाहरूः
लोकतन्त्र र सुशासन
खबरदारी पत्रमा नागरिकको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न ‘सहभागितामूलक लोकतन्त्र’ को माग गरिएको छ । निर्वाचित भइसकेपछि उत्तरदायी नहुने सांसदलाई फिर्ता बोलाउन पाउने ‘प्रत्याह्वान’को कानुनी व्यवस्था गर्न र संविधानको सुदृढीकरणका लागि ‘उच्चस्तरीय संविधान पुनरावलोकन तथा संशोधन आयोग’ गठन गर्न माग गरिएको छ।
अर्थतन्त्र र रोजगार
दलाल तथा आसेपासे पुँजीवादको अन्त्य गर्दै स्वदेशमै वार्षिक ५ लाख मर्यादित रोजगारी सिर्जना गर्न उत्पादनमुलक हरित अर्थतन्त्रको सुनिश्चित गर्नु पर्ने माग गरिएको छ । यस्तै, प्रगतिशील कर प्रणाली लागू गर्न र एकीकृत सामाजिक सुरक्षाको प्रत्याभूति गर्न समेत खबरदारी गरिएको छ ।
शिक्षा, स्वास्थ्य र सामाजिक न्याय
शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको निजीकरण,व्यापारीकरण तथा वस्तुकरणको पूर्ण अन्त्य गरी यसलाई राज्यको अनिवार्य दायित्व बनाउनुपर्नेमा जोड दिइएको छ । साथै, राज्यका सबै अङ्गमा जनसंख्याका आधारमा दलित, महिला, जनजाती, मधेसी, मुस्लिम, थारु, युवा, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत र अल्पसख्यक समुदायको अर्थपूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरिएको छ ।
वातावरण र जलवायु न्याय
नवउदारवादी विकासको मोडल परिवर्तन गरी मानव र पर्यावरणमैत्री विकास सुनिश्चित गर्न र जलवायु परिवर्तनमा ऐतिहासिक उत्तरदायित्व भएका औद्योगिक राष्ट्रहरूबाट क्षतिपूर्ति र अनुदान प्राप्त गर्न सशक्त कूटनीतिक पहलको आवश्यकता औँल्याइएको छ ।
वैदेशिक नीति
नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि सन्तुलित र असंलग्न कूटनीति अवलम्बन गर्दै नेपाललाई शक्ति राष्ट्रहरूको सामरिक क्रिडास्थल बन्न नदिन सचेत गराइएको छ ।
यस खबरदारी पत्रमा नरेन खतिवडा, मञ्जु गुरुङ, पम्फा परियार, प्रयास अधिकारी, खगेन्द्र ओली, डा. चिरञ्जीवी भट्टराई, भोला भट्टराई, अधिवक्ता गणेश धामी, अधिवक्ता भूपेन्द्र शाह, सन्जु गुरुङ्ग, विनय कार्की, सागर देवकोटा, जिया राजभण्डारी, जिना यादव, योगेन्द्र विजय दाहाल, सञ्जय पन्थी, सागर देवकोटा, सुस्मिता वैदवार, राम रोहन पन्त, महेन्द्र थापा, कर्ण वहादुर नेपाली, राजेन्द्र महर्जन, मनोज राम, डा. सुन्दर थापा, विमन वुर्लाकोटी, लोकेन्द्र राज गिरी लगायतका नागरिक अधिकारकर्मीहरुले ऐक्यबद्धता जनाएका छन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














