सुनसरी, आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट विश्वकृतिमानी डा. रक्षकुमार राईले उम्मेदवारी घोषणा गरेका छन्। उनले “घोडा” चुनाव चिन्हमार्फत निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाएका छन्।
डा. राईका अनुसार उनले विभिन्न विधामा ११ विश्वकृतिमान कायम गरेका छन् भने विश्वचर्चित विश्वविद्यालयहरूबाट ८ वटा Doctorate (PhD) उपाधि हासिल गरेको दाबी गरेका छन्। उनले खेलकुद, समाजसेवा तथा अनुसन्धान क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएका छन्। उनी सितोरियो करातेका ब्ल्याक बेल्ट ४थ डान तथा अन्तर्राष्ट्रिय रेफ्री/कोचसमेत रहेको उल्लेख गरेका छन्।
राजनीतिक तथा सामाजिक गतिविधिमा लामो समयदेखि संलग्न रहेको बताउँदै उनले विश्वशान्ति, मानवतावाद र युवा नेतृत्वमार्फत राष्ट्र निर्माणको अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुख्य एजेण्डा
उम्मेदवार राईले सार्वजनिक गरेको घोषणा–पत्रमा पानी तथा बिजुलीको ५० युनिटसम्म निःशुल्क व्यवस्था, निर्माणाधीन विमानस्थललाई पूर्णता, बेरोजगारी अन्त्य, साना तथा मझौला उद्योगका लागि बिना धितो कर्जा, शिक्षामा १०० प्रतिशत सरकारी लगानी, महिला तथा पिछडिएको वर्गलाई ५० प्रतिशत समावेशिता, खेलाडीहरूको भविष्य सुनिश्चित गर्न आयोग गठन लगायतका कार्यक्रम समावेश छन्।
त्यसैगरी उनले सहकारी पीडितलाई राहत, सुकुम्बासी समस्या समाधान, अपाङ्ग तथा वृद्धवृद्धालाई विशेष सुविधा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जीवन बीमा, तथा जनस्तर र गुणस्तर सुधारमा केन्द्रित नीति अघि सार्ने उल्लेख गरेका छन्।
डा. राईले सरकार र सत्ता परिवर्तन मात्र नभई जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यसहित आफू उम्मेदवारी दिएको बताएका छन्। उनले सुनसरी क्षेत्र नं. १ का मतदातालाई विकास, सुशासन र समृद्धिका पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
निर्वाचन आयोगद्वारा तोकिएको मितिमा हुने मतदानमा उनले “घोडा” चुनाव चिन्हमा मतदान गरी सहयोग गर्न अपिल गरेका छन्।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














