राँझा (बाँके),३१ वैशाखःनेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नगर्ने पाँच हजार बढि सेवाग्राहीको ‘लाइन’ विच्छेद गरिदिएको छ ।
वितेको पाँच महिनाको अवधिमा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली प्रक्रिया सुरु गरेको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार, लामो समयदेखि महसुल रकम नतिर्ने ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली अभियान सुरुआत गरेपछि नेपालगञ्ज वितरण केन्द्रले करिब रु पाँच करोड बक्यौता असुल गर्न सफल भएको छ । “बितेको पाँच महिनाको अवधिमा हामीले करिब साढे ५ हजार ग्राहकको लाइन काटेका छौँ । यसबाट बक्यौता रकम करिब रु छ करोड ३० लाख हुन गएको छ”, उहाँले भन्नुभयो, “लाइनविच्छेद गरेका मध्ये करिब चार हजार ५०० ग्राहकबाट विद्युत् लाइन पुनःजडान भई करिब रु पाँच करोड बक्यौता असुल भएको छ ।”
वितरण केन्द्रले लामो समयसम्म महसुल नबुझाउने ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली अभियानलाई निरन्तर रुपमा सञ्चालन गरिहेको छ । विद्युत् आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाएको केन्द्र प्रमुख मिश्रले बताउनुभयो ।
विद्युत् लाइन प्रयोग गरेवापतको महसुल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । उक्त अवधिभित्र बिल भुक्तानी नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुनेछ । बक्यौता नतिर्ने ग्राहकको लाइन विच्छेद अभियानले ग्राहकलाई समयमै बिल तिर्नुपर्ने सचेतना जगाएको उहाँको भनाइ छ ।
बाँके जिल्लामा विद्युत् सेवा सुधार र चुहावट नियन्त्रणको लागि नेपालगञ्ज वितरण केन्द्रले मिटर अनुगमन, हुकिङ गर्ने वा मिटरमा गडबडी गर्ने ग्राहकहरुमाथि सार्वजनिक बिदाका दिनसमेत स्थलगत निरीक्षण गर्दै सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन गरिरहेको छ ।
सेवा सुधार, चुहावट नियन्त्रण अभियानले पछिल्ला महिनाहरूमा बाँकेमा विद्युत् आपूर्तिमा सुधार देखिएको छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेकाकारण गर्मीयाममा आपूर्ति अवरुद्ध नहुने केन्द्र प्रमुख मिश्रको दाबी छ ।
नेपालगञ्ज वितरण केन्द्र नो–लाइट शाखामार्फत महत्वपूर्ण स्थानहरूमा नाङ्गो तार हटाइ केबुल विस्तारको काम भइरहेको छ । मर्मत शाखाले नियमित अनुगमनमार्फत आपूर्ति अवरोध हुन नदिन आवश्यक सतर्कता अपनाएको कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा थप सुधार आएको उहाँको भनाइ छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।















