काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व कानून सचिव चिरञ्जीवी खनालविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ ।
उजुरीमा सार्वजनिक पदमा रहँदा व्यापक भ्रष्टाचारमार्फत गैरकानुनी सम्पत्ति आर्जन गरेको, परिवारका सदस्यहरूको नाममा चल–अचल सम्पत्ति जोडेको तथा वैधानिक आयस्रोतभन्दा बाहिर गएर आर्थिक गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।
उजुरीकर्ताले खनालले सार्वजनिक रूपमा “नेपो बेबी” र “नेपो किड्स” विरुद्ध अभियान चलाउने गरेको भए पनि आफ्नै सन्तान भने विदेश तथा महँगा शैक्षिक संस्थामा अध्ययन गरी विलासी जीवन बिताइरहेको आरोप उल्लेख गरेका छन् ।
उजुरीमा खनालका सन्तानहरूको शैक्षिक विवरणसमेत समावेश गरिएको छ । जेठी छोरीले महामंजुश्री स्कूल, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर हुँदै अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय (ब्रिसबेन) मा अध्ययन गरेको, माहिली छोरीले यशस्वी स्कूल, निस्ट कलेज र काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (KUSOM) मा अध्ययन गरेको तथा छोराबाट महामंजुश्री स्कूल, गोल्डेनगेट कलेज र काठमाडौं इन्जिनियरिङ कलेजमा अध्ययन गरेको उल्लेख गरिएको छ ।
उजुरीमा निम्न विषयमा छानबिनको माग गरिएको छ :
* नागार्जुन नगरपालिका वडा नं. ५ मा रहेको जग्गा बिक्री प्रक्रियामा राजस्व छली भएको आरोप ।
* सार्वजनिक पदमा रहँदा परिवारको उच्च खर्च तथा सम्पत्तिको स्रोतबारे अनुसन्धान ।
* सन्तानहरूको महँगा शिक्षामा भएको खर्चको वैधानिक स्रोत छानबिन ।
* अख्तियारमा कार्यरत रहँदा अष्ट्रेलियामा बसोबास गर्ने आफन्तमार्फत अवैध आर्थिक लाभ वा घुस रकम लिएको भन्ने आशंकाको अनुसन्धान ।
* नागार्जुन–५ स्थित सीतापाइ–धार्के सडक खण्डमा नक्सा पास नगरी घर तथा टहरा निर्माण गरिएको विषयमा प्राविधिक तथा कानुनी छानबिन ।
* घर बहाल कर तथा अन्य आर्थिक दायित्व भुक्तानी नगरेको आरोपमाथि अनुसन्धान ।
उजुरीकर्ताले सुशासन, पारदर्शिता तथा सार्वजनिक उत्तरदायित्व कायम गर्न निष्पक्ष अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अघि बढाउन माग गरेका छन् ।
हालसम्म चिरञ्जीवी खनालले यी आरोपबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । साथै सम्बन्धित निकायहरूले पनि औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















