काठमाडौँ, ३१ असारः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
महासङ्घले आज पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्न सक्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो । सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत बिदा दिने निर्णय गरेको थियो ।
महासङ्घका अध्यक्ष काशीनाथ दङ्गालले सिकाइ उपब्धि घट्ने भएकाले हप्तामा छ दिन नै पूर्ववत्रुपमा विद्यालय सञ्चालन गनुपर्नेमा आफूहरुको हालैको राष्ट्रिय सम्मेलनबाट पनि प्रस्ताव पारित भएको जानकारी दिनुभयो । उहाँले सरकारले हालै शिक्षा नियमामवलीको दसौँ संशोधनमा आफूहरुसँग परामर्श नगरेको र विद्यालय व्यवस्थापन समितिका अधिकार क्षेत्र संकुचन गर्न खोजिएको आरोप लगाउनुभयो ।
कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष गुणराज मुक्तानले विद्यालयमा समुदायको अस्तित्व र भूमिकालाई अवमूल्यन गरिनु उचित नहुने बताउनुभयो ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















