काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा गएको पहिरोका कारण काठमाडौँ उपत्यकाको ग्यास आपूर्ति प्रभावित भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहज बनाउने पहल थालेको छ।
गत भदौ १० गतेको विपद्पछि भदौ १४ गतेदेखि उक्त मार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौँ आउन सकेका छैनन्। जसका कारण उपत्यकाका उपभोक्ताले ग्यास अभावको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यस समस्याको तत्काल समाधान खोज्न मन्त्रालयले ग्यास उद्योगी र सम्बन्धित सरोकारवालासँग छलफल गरेको छ। छलफलमा आपूर्ति प्रणालीलाई कसरी सुचारु राख्ने र वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा ग्यास उद्योगीहरूले काठमाडौँमा हालको माग धान्नका लागि थप सक्रियता देखाउने प्रतिबद्धता जनाएका छन्। सामान्य अवस्थामा उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेकोमा अब तत्काल ५० हजार सिलिन्डर बजारमा पठाउने तयारी उद्योगीहरूले गरेका छन्।
मन्त्रालयले ग्यास जस्तो अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध नआओस् भन्नका लागि आवश्यक समन्वय र सहजीकरणलाई निरन्तरता दिने बताएको छ। मन्त्रालयले सर्वसाधारणको दैनिक जीवनसँग जोडिएको यस विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएको छ।
सडक अवरोधका कारण अन्य अत्यावश्यक सामग्रीको ढुवानीमा पनि समस्या भइरहेको अवस्थामा मन्त्रालयको यो सक्रियताले केही हदसम्म उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ। नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहले सपथ लिएको भोलि पल्ट मन्त्रालयमा मन्त्रालयले ग्यास उद्योगी र सम्बन्धित सरोकारवालासँग छलफल गर्नु भएको हो ।

फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















