काठमाडौं : मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत ‘म्ये प्वा खनेगु’ अर्थात् जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ। नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग गहिरो रूपमा जोडिएको यो जात्रा हरेक वर्ष इन्द्रजात्राको अवसरमा विशेष विधि तथा परम्पराअनुसार मनाइँदै आएको छ।
यस वर्षको जात्रामा मध्यपुर थिमिका स्थानीय वीरेन्द्रभक्त गजू श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडाएर पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिएका छन्। उनले निर्धारित धार्मिक तथा सांस्कृतिक विधिअनुसार जिब्रो छेडाएर जात्रामा सहभागिता जनाएका हुन्। जात्राको अवलोकनका लागी पुगेका बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जिब्रो छेड्ने जात्रा थिमीको मात्र नभइ नेपालको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको उल्लेख गरे। नयाँ पुस्तालाई यस्ता परम्परासँग जोड्नुपर्नेमा मुख्यमन्त्री मगरले जोड दिए। उनले संस्कृति र मठमन्दिरको जर्गेना गर्ने उदेश्यले प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरेको जानकारी दिए।
जिब्रो छेड्ने जात्रा मध्यपुर थिमिको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा परिचित छ। मध्यपुरथिमिमा पहिलो बिस्काः जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोदेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ प्रचलनमा रहेकाछन। जात्राका क्रममा स्थानीय बासिन्दा, श्रद्धालु तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















