काठमाडौं । दाङ क्षेत्र नम्बर ३ का सांसद कमल सुवेदीले संसदमा उठाएका जनसरोकारका विषयहरु ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद्को शपथ लिएको १ सय ९१ दिन पुगिसक्दा पनि आफूले उठाएका विकास निर्माण र जनजीविकाका मुद्दाहरु सम्बोधन नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले भने, ‘संसद्मा उठाएका जनताका आवाज सुनिए कि शून्य समयमै शून्य भएर हराए ? कहिलेकाहीँ मनमा यस्तो प्रश्न उठ्छ ।’ उनले दाङ–३ क्षेत्रका सम्बन्धित मुख्य समस्याहरुलाई फेरि एकपटक सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विशेष गरी फुर्केसल्ली र मलईका निकुञ्जपीडितको बस्ती स्थानान्तरण, लमही–घोराही–तुलसीपुर सडक निर्माणमा भइरहेको ढिलाइ र सो क्षेत्रको कमजोर नेटवर्कको समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।
‘शान्तिनगर, दङ्गीशरण र बबईका नागरिकले मोबाइल उठाउँदा ‘नेटवर्क छैन’ भन्ने बाध्यता कहिले अन्त्य हुन्छ ? हरेक घरमा खानेपानी र विद्युत् पुग्नु नागरिकको नैसर्गिक अधिकार हो,’ उनले प्रश्न गरे ।
सांसद् सुवेदीले अस्पतालको गुणस्तरीय सेवा, मलखादको सहज आपूर्ति, ग्यासको सहज उपलब्धता र शिक्षाको गुणस्तरमा सुधार गर्न सरकारसँग जोडदार माग गरे । साथै, उनले युवा शक्तिलाई विदेशिनबाट रोक्न देशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
‘युवाहरु विदेशको टिकट होइन, देशमै अवसरको टिकट खोज्न चाहन्छन् । मैले उठाएका यी विषय दाङ–३ का जनताको पीडा र आवश्यकता हुन् । सरकारले यी आवाज सुनोस्, मनन गरोस् र नतिजा देखिने गरी काम गरोस्,’ उनले भने ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















